नेपालगञ्ज । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) नेपालगञ्जले वातावरणीय न्याय सम्बन्धी अभियान सुरु गरेको छ । वन्यजन्तु र बन क्षेत्रबाट प्रभावित नागरिकमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले ‘वातावरणीय न्याय र जबाफदेहीताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु गरेको संस्थाका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनुभयो ।
अभियानले प्रभावित क्षेत्रका समुदायलाई सुसूचित, सजग र सङ्गठित गरेर उनीहरूको आवाजलाई सबल बनाउनुका साथै आफ्ना अधिकारको वकालत गर्न सक्रिय बनाउने तथा सरोकारवाला सरकारी अधिकारीलाई जबाफदेही र उत्तरदायी बनाउन नागरिक तहबाट सङ्गठित प्रयास गर्ने अधिकारीले जानकारी दिनुभयो । सीसीएनले अभियानको सुरुमा दुवै पालिकामा सरोकारवालाहरूसँग समन्वय बैठकहरू गरेको छ । दुवै बैठकमा प्रहरी, बन, निकुञ्ज, बढघर, विद्यालय, क्लब लगायतका सरोकारवाला अगुवाको सहभागिता रहेको थियो ।
युएसएआईडी/द एसिया फाउण्डेशनद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा सुरु भएको यो अभियानले वन्यजन्तु तथा वनजङ्गल प्रभावित सीमान्तकृत समुदायलाई उनीहरूको दायित्व र अधिकार बारे सचेतना गर्ने, वन्यजन्तु तथा वनजङ्लगबाट भएको क्षतिपूर्ति प्राप्तिका लागि सबल बनाउने, क्षतिपूर्तिका विद्यमान व्यवस्था, ऐन नियमबारे सचेतना र सुधारका लागि पैरवी गर्ने अनि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सम्बद्ध निकायलाई जबाफदेही बनाउन नागरिक समाजका तर्फबाट खबरदारी गर्ने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।
अभियान बाँकेको रापती सोनारी गाउँपालिका वडा नम्बर २ र बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ मा सञ्चालन हुने छ ।
सीसीएनले १७ वर्षदेखि सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१, १७:४८