नेपाल १९ वर्षमुनिको टी ट्वान्टी महिला विश्वकप क्रिकेटका लागि छनोट भएको छ । बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । छनोट प्रतियोगितामा यसअघि यूएईसँगै पराजित भएको नेपालले आज फराकिलो जित हात पार्न सफल भएसँगै विश्वकपमा लागि छनोट भएको हो ।
नेपालले विश्वकपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा रहेर प्रतिस्पर्धा गर्नेछ। यू–१९ विश्वकप आउँदो माघ ५ गतेदेखि माघ २० सम्म मलेसियामा हुनेछ।
नेपाल र यूएईले ६ खेलबाट समान १० अंक बनाएका भए पनि युएईभन्दा राम्रो रन औसत बनाउन सफल भएपछि नेपाल विश्वकपमा छनोट भएको हो। ८४ रनको लक्ष्य नेपालले १५ औँ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो।
नेपालको जितमा कप्तान पुजा महतोले २१ तथा सावित्री धामीले १२ रन बनाउनुभयो भने सना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहनुभयो ।
टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमा केसीले २/२ र रचनाकुमारी चौधरीले एक विकेट लिएपछि यूएईका चार जना ब्याटर रनको खाता खोल्नै नसकि आउट भएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१, १८:१८