काठमाडौँ । सरकारले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ ।
राष्ट्रिय कफी दिवसको अवसर पारेर विभिन्न प्रकारका कफीको नयाँ मूल्य निर्धारण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बोर्डले जनाएको छ ।
नयाँ मूल्य अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को कफी प्रतिकिलो १ सय ५ रुपैयाँ र ग्रेड ‘बी’ को ९५ रुपैयाँ तोकिएको छ ।
यस्तै, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकिलो ५ सय ३५ र ग्रेड ‘बी’ कोे ४ सय ८२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
ड्राइ चेरी ग्रेड ‘ए’ कफी किलोको २ सय ८० र ग्रेड ‘बी’ को २ सय ४७ रुपैयाँ मूल्य तोकिएको बोर्डले जनाएको छ । किसानको उत्पादन लागत र मुनाफाको आधारमा नयाँ मूल्य निर्धारण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक डा.लक्ष्मण पोखरेलले सीआइएनसँग बताउनुभयो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १४ करोड ९२ लाख रुपैयाँको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँको ४ सय ४३ मेट्रिक टन कफी आयात भएको छ । देशभर ४ हजार ३ सय हेक्टरमा कफी खेती हुने गरेको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१, १३:२६