काठमाडाैँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानालाई उपचारका लागि ल्याइएको तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको काठमाडाैँको फ्रन्टलाईन अस्पतालले जनाएको छ ।
उहाँ २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएका उहाँ २०५१ सालसम्म सभामुख बन्नुभएको थियो । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुङ्गाना वरिष्ठ अधिवक्ता समेत रहनुभएको थियो । लामो समय वकालत गर्नुभएका उहाँ शिक्षक पनि हुनुहुन्थ्यो ।
२०५१ मा पराजित हुनुभएका उहाँ २०७४ को निर्वाचनमा भक्तपुर-२ मा उम्मेदवार रहेपनि विजयी हुन सक्नुभएन । त्यसपछि भने उहाँ सक्रिय राजनीतिमा रहनुभएन । ढुङ्गाना सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता समेत रहनुभएको थियो ।
सभामुख भएको समय बाहेक राज्यले दिने सुविधा नलिएका उहाँ लोकतन्त्रका पक्षमा सत्ताविरुद्ध सँधै मुखर रहँदै आउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१, १६:१२