धनकुटा । धनकुटा नगर क्षेत्रभित्र मात्रै बसोबास गर्ने आठपहरिया राई समुदाय नेपालको लोपोन्मुख जातीको सूचीमा पर्छ । उनीहरूको महत्त्वपूर्ण चाड हो वाढङ्मेट ।
अहिले आठपहरिया राई समुदाय वाढङ्मेट पर्व धूमधामसँग मनाइरहेको छ ।
वर्ष भरी परेकोको मृत्यु शोकबाट उकास्ने यो एक मात्र पर्व पनि हो । यही पर्वमा परिवारका सदस्य थपिएको खुसीयालीमा हर्षबढाइँसमेत हुने गरेको छ । आठपहरिया राई जातीले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म वाढाङ्मेट ममनाउने गरेको धनकुटा ७ छोटीका केशर आठपहरिया राई बताउनुहुन्छ ।
खास गरी साँगुरी गढी कटेर जानु हुँदैन भन्ने मान्यता यो समुदायमा परापूर्व कालदेखि नै रहेको छ । तर, यो मान्यताले सधैँ भरी उनीहरूलाई बाँधेर राख्न सकेन । रोजगारीका साथै उच्च शिक्षा अनि सेवा, सुविधा र सम्पन्नताको खोजी गर्दै बसाइँ सर्ने परिपाटीबाट यो समुदाय अछुतो रहन पनि कसरी सकोस् र ? जे जस्तो कामका लागि भए पनि बाहिर गएकाहरू पनि वाढङ्मेट मनाउन गाउँ फर्किने गरेको केशरको भनाइ छ ।
यो पर्वमा वर्ष दिनभरिमा मृत्यु भएको परिवारका सम्पूर्ण सदस्य चार दिन लगाएर धनकुटाबाट पैदल हिँडेरै सुनसरीको वराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुन्डन गरी वराहको दर्शन गरेर ‘बरखी फुकाउने’ गर्छन् । तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गीत गाउने चलन रहेको आठपहरिया राई समुदायका अगुवाहरू बताउँछन् ।
निधन भएकाहरूलाई सम्झने र श्रद्धाञ्जली दिने अनि बाँचेकाहरूको दीर्घायुको कामना गर्दै यही जुनीमा रमाउनुपर्छ भन्ने भाव जगाउनु वाढाङ्मेटको मूल मर्म रहेको धनकुटा ७ का चैतबहादुर आठपहरिया राई बताउनुहुन्छ । यो चाड सुरु हुनुअघि वराहक्षेत्र पुगी दिवङ्गत आत्मालाई अनाज, सगुनलगायत पितृको नाममा प्रसाद चढाउने अर्थात् भनी गर्ने गरिन्छ ।
बराहक्षेत्रबाट फर्किए अघि बराह धाममा पनि भनी दिने चलन छ । वराहक्षेत्रमा वर्ष भरी मृत्यु भएका आफन्तलाई सम्झिँदै विधिवत रूपमा जल चढाएपछि चार दिन लगाएर धनकुटा फर्किने गरिन्छ ।
यो चाडका क्रममा १५ दिनसम्म आफन्तका घर घरमा पुगेर ढोल नाच्दै रमाइलो गर्ने चलन पनि रहेको चारिङ्गेथलोका धुपौरेमाङ देउबहादुर राई बताउनुहुन्छ ।
पछिल्लो समय आठपहरिया राईको जनसङ्ख्या घट्दै गएको छ । पछिल्लो जनगणना अनुसार आठपहरिया राईको जनसङ्ख्या १० हजारको आसपासमा मात्रै रहेको छ । जसमध्ये धनकुटा नगरपालिकाभित्र बसोबास गर्ने आठपहरियाको सङ्ख्या ५ हजार ३ सय ६५ रहेको आठपहरिया समाजका अध्यक्ष अष्टबहादुर राई बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय आठपहरियाहरूले आफ्नो थरमा ‘आठपहरिया’ वा ‘आठपहरिया राई’ नलेखी ‘राई’ मात्र लेख्ने जनसङ्ख्या घट्नुमा उनीहरूले राईको अन्य थर लेख्नु पनि हो ।
समुदायमा विभिन्न आयातित पर्व मनाउने क्रम बढ्दै गए पनि वाढाङ्मेट चाडको महत्व उत्तिकै छ । अझ यसलाई जगेर्ना गर्दै लैजाने हो भने पर्यटक भित्र्याउन सहज हुने मात्रै होइन, यो समुदायका मानिसलाई पर्यटनमुखी बनाई रोजगारमा संलग्न गराउन सकिने अगुवाहरू बताउँछन् । त्यसका लागि स्थानीय सरकारका साथै यही समुदायका अगुवा र युवाले विशेष अग्रसर बन्नुपर्ने सामाजिक अगुवाहरू बताउँछन् ।
तस्विरहरू- ईश्वर थापा, धनकुटा
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१, १८:३०