काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।
जागरण सभा नाम दिइएको प्रदर्शन मध्यान्ह्न साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभाअघि बिहान साढे ११ बजे काठमाडौँको सहीद गेटबाट जुलुस सुरु भएर वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ ।
दरबारमार्गमा हुने सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउदै आएको छ ।
सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ ।
आजै काठमाडौँको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गरिएको छ ।
आज काठमाडौँमा प्रदर्शन हुने क्षेत्रमा अत्यावश्यक काम नपरी घरबाट ननिस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१, ०९:०२