चौथो संस्करणको दृष्टिविहीन क्रिकेट टी–ट्वान्टी विश्वकप आज (शनिवार) बाट सुरु हुँदै छ । पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजना रहेको प्रतियोगिताका खेल पाकिस्तानको लाहोर र मुल्तानमा यही मंसिर १८ गतेसम्म हुने वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका खेल्नेछन् । अर्को खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्नेछ । यो खेल लाहोरमा हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार बङ्गलादेशसँग, तेस्रो खेल सोमवार अफगानिस्तानसँग, चौथो खेल मङ्गलवार दक्षिण अफ्रिकासँग र पाँचौँ खेल बुधवार पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताका लागि राम्रो तयारी गरेकोले राम्रो प्रदर्शनको अपेक्षा राखेको नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले जानकारी दिए ।
विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । भारतले भने अन्तिम समयमा सहभागी नहुने निर्णय गरेको हो । सहभागी ६ टोलीबिच राउन्ड रोविनका आधारमा खेल हुनेछन् भने भारतले खेल्ने लिग चरणका ६ वटै खेलमा विपक्षीले वाक ओभर पाउनेछन् ।
लिग चरणमा शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१, ०८:५०