कठमाडौँ । कृषि बाली तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिनका लागि लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा गरिएको ‘असल अभ्यास’ प्रभावकारी भएको किसानले बताएका छन् ।
असल अभ्यास अन्तर्गत खेतीका लागि बिउ, माटो, विधि, उपकरण र बजारबीचको तालमेल हुने गरेको छ ।
यो अभ्यासको पालना गर्दा किसानले बिउ तथा मलको प्रयोगमा सही समय, सही स्थान, सही स्रोत र सही विधिमा ख्याल राख्नुपर्छ । यूएसएडको सहयोगमा सिमिट नेपालले सञ्चालन गरेको नेपाल बिउ तथा मल परियोजना (एनसाफ) लागु भएका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतबाट छनोट भएका सहकारी तथा कृषक समूहले असल अभ्यास गरिरहेका छन् ।
बितेको करिब २ वर्षसम्म सञ्चालन भएको एनसाफ परियोजनाबाट किसान, कृषि प्राविधिकले पनि नयाँ सीप सिक्ने अवसर पाएको कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषि शाखा प्रमुख सुमनराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार माटोको उर्वरा शक्ति बढाउनका लागि ढैँचा र मुङ्को खेती जिल्लामा प्रभावकारी भएको छ भने पालिकाले नै यसका लागि बिउमा अनुदान पनि दिएको छ ।
कञ्चनपुरदेखि कपिलवस्तुसम्मका ७ जिल्लामा भएको अभ्यासबाट प्रभावित भएर अरु स्थानीय तह र प्रदेश सरकारबाट आगामी दिनमा समन्वयको प्रतिबद्धता आएको छ ।
सीआईएनसँग कुराकानी गर्दै सिमिट नेपालका सिनियर रिसर्च एसोसियट डा नवराज पण्डितले एनसाफ परियोजना सकिने लागेको जानकारी दिँदै भइरहेका असल अभ्यासलाई सहकारी तथा स्थानीय सरकारले निरन्तरता दिन सक्ने बताउनुभयो ।
सिमिट, एनसाफसँगको सहकार्य, सीआईएनको समन्वयमा उत्पादन भएको कृषि कार्यक्रम ‘उब्जनी’ को २० भाग ७ जिल्लाका २२ वटा रेडियोबाट प्रसारण भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१, १२:०८