सुरेश धामी
बझाङ । बझाङको बुंगल नगरपालिकाका भूकम्प प्रभावित अmभैm चर्किएकै घरमा बस्न बाध्य भएका छन् । अस्थायी टहरामा बसिरहेका बेला चिसो बढेपछि टहरामा बस्न गाह्रो भए पछि, भूकम्पले भत्काएका जोखिमयुक्त घरमै बस्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । २०८० साल असोज १६ र २० गतेको भूकम्पबाट प्रभावित परिवारले घर पुनर्निर्माण गर्न नसक्दा यो जोखिम लिएर बस्न बाध्य भएको बुंगल नगरपालिका २ रैसेल्लीका भूकम्प प्रभावित कर्ण जाग्रीले बताउनुभयो ।
भूकम्पपछि तत्काललाई अस्थायी आवास निर्माण गरी बस्न थालेको तर अहिले चिसो बढेपछि भूकम्पले चर्किएकै घरमा फर्किएको उहाँको भनाइ छ ।
स्थानीय सरकारले पुनर्निर्माणका लागि आवश्यक सहयोग नगरेको भूकम्प प्रभावितले गुनासो गरेका छन् । बुंगल नगरपालिकाले, पालिकाभित्रका भूकम्प प्रभावित १ सय ८७ घरपरिवारलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापत २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ता रकम पाएपछि अस्थायी आवास निर्माण गरे पनि त्यसयता दोस्रो किस्ता उपलब्ध नभएको प्रभावितको गुनासो छ ।
अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नपाएको बुंगल नगरपालिका ५ व्युनाडाका रामबहादुर विकले बताउनुभयो । २ किस्तामा गरी ५० हजार रुपैयाँ दिने भनेको नगरपालिकाले दोस्रो किस्ता नदिँदा, प्रभावितले बनाउन थालेका कतिपय अस्थायी आवास अधुरै छन् भने बनाएकाले ऋण तिर्न नपाएका प्रभावितको गुनासो छ । रकम नपाउँदा टहरो निर्माण गर्दाको निर्माण सामग्रीको रकम तिर्न नसकेको विकले बताउनुभयो ।
राहत रकमका लागि स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी)ले भूकम्प प्रभावितको पहिचान गरी लाभग्राहीको विवरण विपद् पोर्टलमा प्रविष्ट गरी जिल्ला विपद् व्यवस्थापन समितिमा दोस्रो किस्ता अनुदान माग गर्नु पर्ने व्यवस्था छ । तर बुंगल नगरपालिकाले भने समयमै अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम आवश्यक प्रक्रिया पुरा गरेका कारण दोस्रो किस्ता भुक्तानी हुन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले कार्यविधि बमोजिम आवश्यक प्रक्रिया पूरा गर्नुका साथै स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) बाट पहिचान भई कायम भएका लाभग्राहीको विवरण तत्काल विपद् पोर्टलमा चढाएर दोस्रो किस्ता अनुदान माग गर्न भन्दै बुङ्गल नगरपालिकालाई पत्र पठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताउनुभयो ।
बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले पहिले आवश्यक प्रक्रिया थाहा नपाएर जिल्ला विपद् व्यवस्थापन समितिबाट दोस्रो किस्ता रकम भुक्तानी नभएको र अब केही दिनमै नगरपालिकाले आवश्यक प्रक्रिया पुरा गरी दोस्रो किस्ता माग गर्ने बताउनुभयो । भूकम्पको १४ महिना हुँदा पनि स्थानीयले दोस्रो किस्ता रकम नपाउँदा प्रभावितले बनाउन थालेका कतिपय अस्थायी आवास अधुरै छन् भने बनाएकाहरूले ऋण तिर्न पाएका छैनन् । घर आँगनकै सरकारले गरेको यो हेलचेक्र्याइँप्रति भूकम्प प्रभावितले आफूहरूको दुःख बुझ्न नसकेको प्रभावितले गुनासो गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१, १४:२७