काठमाडाैँ । सामुदायिक रेडियो रणनीति–२०३० का विषयमा सरोकारवालाबिच छलफल भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको आयोजनामा भएको छलफलका सहभागीले सामुदायिक रेडियोका चुनौतीको सामना गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा अमार्क एसिया प्यासिफिकका अध्यक्ष रामनाथ भाटले अहिले समस्या सामुदायिक रेडियोको मात्र नभएर लोकतन्त्रमाथि पनि रहेको भन्दै सामुदायिक रेडियोले समुदायलाई विर्सन नहुनेमा जोड दिनुभयो । नेपालका सामुदायिक रेडियोको गौरवमय भूमिका रहेको उल्लेख गर्दै यो विश्वभरिकै लागि सिकाइको विषय भएको बताउनुभयो ।
अमार्क दक्षिण एसियाका उपाध्यक्ष तथा अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरू समुदायका नजिकका साथी भएकाले समुदायबाट टाढा हुनै नसक्ने बताउनुभयो । आवश्यक स्रोतसाधनको अभाव अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले यो समस्या समाधानका लागि हातेमालो जरुरी रहेको बताउनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले अकोराबले तयार पारेको सन् २०३० सम्मको रणनीतिक योजनामा आवश्यक परिमार्जन गर्दै अघि बढ्ने बताउनुभयो ।
तीनै तहका सरकारले सामुदायिक रेडियोहरूलाई कस्ने खालका कानुन बनाइरहेका र त्यसको विरोध गरिरहेको बताउँदै उहाँले श्रोताको बदलिँदो रुचि अनुसार सामुदायिक रेडियोले पनि आफ्ना सामग्रीहरूमा विविधता र नवीनता ल्याउन जरुरी रहेको बताउनुभयो ।
परिणाममुखी नतिजा ल्याउनका लागि अकोराबको कार्यसमितिलाई विभिन्न विषयमा केन्द्रित गरेर अघि बढाउने तयारी गरेको अध्यक्ष गिरीले बताउनुभयो ।
अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, उपाध्यक्ष गोपाल बराइली, महासचिव वन्दना दनुवार, सचिव भक्त स्याङ्तान, कोषाध्यक्ष तुला अधिकारी लगायतले सामुदायिक रेडियोहरूप्रति सरकार सकारात्मक हुन नसकेको भन्दै विभिन्न विकल्पहरूबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा अकाेराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले सामुदायिक रेडियो रणनीति–२०३० काे खाका प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१, १९:४७