काठमाडौँ । केयर नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौँमा फोटो प्रर्दशनी सुरु गरेको छ भने महिलाको अधिकार, दिगो शक्तिका लागि सुपर परियोजना अन्तरगत ५ वर्ष लगाएर गरिएको गरिएको सर्वेक्षण पनि सार्वजनिक गरेको छ ।
आर्थिक र सामाजिक अनुसन्धान परिषद् र युकेको सहकार्यमा दक्षिण एसियामा भएको अनुसन्धान एक महत्वपूर्ण दस्तावेज भएको ब्रिटिस राजदुताबासका विकास निर्देशक पिप्पा ब्रिडले बताउनुभयो ।
यस सर्वेक्षणको सार्वजनिक कार्यक्रममा केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले पछाडि पारिएका महिलाका लागि शक्ति प्रदान गर्ने बाटो सर्वेक्षणले खुल्ला गरेको बताउनुभयो ।
ब्रिटिस राजदूतावासमा भएको कार्यक्रममा महिला एकता समाज, महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, जागृति महिला महासङ्घ र किशोरी अधिकार मञ्चले संयुक्त प्रस्तुती गरेको थियो भने अभियानलाई सक्रियरुपमा चलाएको भन्दै प्रशंसा गरिएको थियो ।
महिलाका सङ्घर्षका कथा उल्लेखित फोटो प्रदर्शनी आज र भोलि (मङ्सिर १४ र १५) ललितपुरको पाटन म्युजियम परिसरमा हुने छ ।
प्रदर्शनीमा सर्बसाधारण सबै सहभागी हुन सक्ने केयर नेपालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१, ०८:२३