काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिने चीन भ्रमणका लागि प्रस्थान गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओली बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीपरिषद् बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्री गुरुङले यसका अतिरिक्त प्रस्तावित तीन सय मिलियन आरएमबी (करिब पाँच अर्ब ६० करोड रुपियाँ) बराबरका कार्यक्रम सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच यही मङ्सिर १८ गते मङ्गलबार उच्चस्तीय भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी श्रीमती राधिका शाक्य साथ जानुहुने भएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहनुहुने छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते नै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१, ०७:२६