काठमाडौँ । सामुदायिक रेडियोहरूको विश्व सङ्गठन अमार्कको एसिया प्रसान्त क्षेत्र र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालबिच सामुदायिक रेडियोहरूबीचको सहकार्यका बारेमा छलफल भएको छ । अमार्कको एसिया प्रसान्त क्षेत्रे कार्यसमितिका पदाधिकारीसहितको टोलीले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको भ्रमण गर्नुका साथै एसिया क्षेत्रका सामुदायिक रेडियोहरूबीचको सहकार्यका बारेमा छलफल गरेको हो ।
छलफलका क्रममा अमार्कको एसिया प्रसान्त क्षेत्रका अध्यक्ष रामनाथ भाटले नेपालका सामुदायिक रेडियोले गरेका अभ्यास हेर्न र सिक्न अकोराबको भ्रमण फलदायि रहेको बताउनुभायो । आगामी दिनमा अमार्क र अकोराबबीचको सहकार्यलाई अझै बलियो बनाउने र प्रभावकारी काम गर्ने उहाँले बताउनुभयो ।
अमार्क एसिया प्यासिफिकको नेतृत्व गर्दै विभिन्न मुलुकबाट काठमाडौँ आएका सामुदायिक रेडियो प्रसारकहरूलाई स्वागत गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले रेडियोहरूले आर्थिक सङ्कट भोगिरहेको बेलामा अन्तर्राष्ट्रिय साझेदारी र अमार्कको सहयोगको आवश्यकता देखिएको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारी र अमार्क एसिया प्यासिफिकका टोलीबिच दक्षिण एसियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान, नीतिगत सुधार र आगामी रणनीतिका बारेमा छलफल भएको थियो ।
छलफलमा सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले प्रविधिको नयाँ विकाससँगै सामुदायिक रेडियोलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१, १६:०५