काठमाडौँ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ ।
हिजो साँझ चीनको राजधानी बेइजिङ पुग्नुभएका ओलीले बेइजिङस्थित चीन सरकारको अतिथिगृह देउताई गेस्ट हाउसमा आज उच्चस्तरीय भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने जनाइएको छ ।
आज प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी पनि भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एक समारोहकाबिच साझेदारीयुक्त योजना तथा परियोजनाहरूको आपसी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुने मन्त्रालयले प्रस्ट पारेको छ । परराष्ट्र मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीले पनि छुट्टै भेटवार्ता गर्नुहुने छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबिच महत्वपूर्ण विकास योजनामा समझदारीपत्रसहित विभिन्न परियोजनामा हस्ताक्षर हुने भएको छ ।
बिआरआई कार्यान्वयन फ्रेमवर्कसहितका भौतिक पूर्वाधारका विषयमा दुई सरकारबिच महत्वपूर्ण सम्झौताको तयारी भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१, ०७:३४