नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनका उच्च अधिकारीहरूबीच दुई दिनसम्म बेइजिङमा भएको अनौपचारिक वार्तापछि ‘फ्रेमवर्क’ मा हस्ताक्षर गर्न दुबै देश सहमत भएका हुन् ।
यससँगै सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउने बाटो खुलेको परराष्ट्रविद्हरुले बताएका छन् ।
फ्रेमवर्कमा ‘अनुदान’ भन्ने शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि हिजो यसमा हस्ताक्षर हुन सकेको थिएन । नेपालले फ्रेमवर्कको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उल्लेख गरेकोमा चीनले अनुदान अर्थात् ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई पठाएको थियो। नेपालले फेरि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेकोमा त्यसमा भने चीन सहमत भएपछि हस्ताक्षर सम्भव भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् ।
जसमा– टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल,
जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन् ।
नेपालले प्रस्ताव गरेको काठमाडौँ–हेटौँडा पोडवे र काठमाडौँ उपत्यका प्रसारण लाइन स्तरोन्नति परियोजना भने यसमा परेनन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१, १८:०६