काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ ।
गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङलाई पनि पाँच दिन म्याद थप गरिएको हो । प्रहरीले कत्तिक २ गते काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएको थियो । उहाँविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आजदेखि लागु हुने गरी पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत अदालतले भनेको छ ।
अनुसन्धान करिब सकिएकाले चाँडै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश हुने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१, १५:११