हुम्ला । हिमपातपछि हुम्लाका विद्यार्थी हिउँमै अध्ययन गर्न वाध्य भएका छन् ।
जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नु बाध्यता रहेको बताएको छ ।
भित्र कक्षामा चिसो हुने भएकाले विद्यालयका सबै कक्षा बाहिर हिउँ जमेको चौरमै चलाइएको छ । कक्षाकोठामा जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताउनुभयो ।
मङ्सिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको छ । त्यसमाथि झन् हिमपातको कारण झन समस्या भएको उहाँको भनाइ छ ।
विद्यालयले चौरमा बालविकासदेखि कक्षा दससम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाउन थालिएको हो ।
हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ। पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ।
यसैबीच हिमपातले चीनसँगको सिमाना जोडएको हिल्सा नाका बन्द भएको छ ।
गएको सोमबार बिहानैबाट भएको हिमपातको कारण चार हजार ६७० मिटर अग्लो नारा नाकामा बाक्लो हिमपात भएपछि हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।
नारा लेकमा दुई फिट भन्दा बढी हिउँ जमेको कारण यारी हिल्सा र हिल्सा यारी सडक सोमबारबाट अवरुद्ध भएको प्रहरी निरीक्षक सरोज कँडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१, १६:०४