काठमाडौँ । काठमाडाँंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ अर्थात यो हिँउदकै सबैभन्दा धेरै चिसो महसुस गरिएको छ ।
आज बिहान ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले सीआईएनलाई जानकारी दिनुभयो ।
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो । पोहोर माघ १४ गते काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।
काठमाडौँको अहिलेसम्ममै कम न्यूनतम तापक्रम २०३५ साल पुस २७ गते माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मौसम सफा भएकाले बिहान तापक्रम घट्नु स्वभाविक भएको मौसमविद् मानन्धरको भनाइ छ । अझै तीन दिन देशभर पानी पर्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घटेर चिसो बढ्ने उहाँले बताउनुभयो ।
अहिलेसम्म तराईमा शितलहर सुरु नभएको पनि उहाँले जानकारी दिनुभयो । शितलहर सुरु हुनको लागि विभिन्न मापदण्ड पूरा हुनुपर्ने भए पनि हालसम्म त्यसो नभएको उहाँको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव २ डिग्री सेल्सियस, जोमसोमको माइनस ३ दशमलव ५ र जीरीको माइनस १ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
अझै चिसो बढ्ने भएकाले चिसोबाट हुने स्वास्थ्य समस्याबाट जोगिन डाक्टरले सुझाव दिएका छन् ।
चिसोबाट बच्न सकेसम्म बिहानबेलुकाको समयमा घरबाट ननिस्कने र घरमा झोलिलो खानेकुरा खानुपर्ने प्राध्यापक डाक्टर दिनेश लम्सालले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१, ०८:२८