काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को सहयोगमा सिमिट नेपालले सञ्चालन गरेको नेपाल मल तथा बीउ परियोजना (एनसाफ) को एक कार्यक्रमका बीच समापन गरिएको छ ।
बाँकेको नेपालगञ्जमा सरोकारवाला निकायका प्रतिनिधि, परियोजनाका कर्मचारीसहित समापन कार्यक्रम गरिएको हो ।यूएसएडको फिड द फ्युचर अन्तर्गत सीमिट नेपालले सन् २०१६ देखियो एनसाफ परियोजना सञ्चालनमा ल्याएको थियो ।
परियोजनाले नेपालको कृषि क्षेत्रमा पारेको सकारात्मक प्रभावबारे चर्चा तथा अन्तरक्रिया गर्दै आगामी दिनमा दिगोपना र असल अभ्यासको निरन्तरता सुनिश्चित गर्दै मुख्य सरोकारवालाहरुलाई औपचारिक रुपमा परियोजनाका उपलब्धि हस्तान्तरण पनि गरिएको छ ।
समापन कार्यक्रममा १० वटा स्टलको प्रदर्शनी गरिएको थियो। जसमा परियोजनाका असल अभ्यास, उपलब्धिहरू प्रदर्शन गरिएको थियो।
परियोजना लागु भएका स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधि तथा सरोकारवालालाई परियोजनाका स्रोत र परियोजना साझेदारको विस्तृत सूची हस्तान्तरण पनि गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले एनसाफ परियोना समापन कार्यक्रममा विशेषगरी आधुनिक कृषि प्रविधिको प्रयोगलाई अगाडि बढाउन र नेपालको डिजिटल माटो नक्सा अद्यावधिक गर्न एनसाफ परियोजनाले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो ।
सबै सरोकारवालाहरूलाई परियोजनाको स्वामित्व लिन र बाँकी रहेका चुनौतीहरूको सामनाका लागि सहयोगी भूमिका खेल्न पनि उहाँले अनुरोध गर्नुभयो ।
सन् २०१६ मा सुरु भएको परियोजनाले नेपालका विभिन्न २६ जिल्लाका १ लाख ५१ हजार ३ सय ८० किसान परिवारलाई प्रत्यक्ष सहयोग गरेको सिमिट नेपालका सञ्चार अधिकृत दीपा ओलीले जानकारी दिनुभयो ।
उन्नत बीउ, मल र आधुनिक खेती प्रणाली अपनाएर किसानहरूले बाली उत्पादनमा उल्लेखनीय वृद्धि हासिल गरेको उहाँको भनाइ छ ।
परियोजनाले नेपालभर जीविकोपार्जनमा सुधार ल्याएको र लैङ्गिक समानतालाई बढावा दिँदै खाद्य सुरक्षा वृद्धिमा पनि सकारात्मक भूमिका निर्वाह गरेको छ ।
३ लाख ६५ हजार ४ सय ३६ हेक्टर क्षेत्रफलमा हाइब्रिड वा उन्नत बीउको प्रयोग र २० हजार ३ सय ७४ हेक्टरमा एकीकृत माटोको उर्वराशक्ति व्यवस्थापनका लागि परियोजनाले काम गरेको समापन कार्यक्रममा जानकारी दिइयो ।
नेपालको तराई क्षेत्रमा सङ्घीय, प्रदेश र स्थानीय सरकार, नार्क, निजी क्षेत्र र किसान सहकारीसँग सहकार्यमा एनसाफ परियोजना सञ्चालन गरिएको थियो ।
हाल युएसएआईडीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग १० करोड अमेरिकी डलरभन्दा बढीको सहयोग तथा साझेदारी गरिरहेको छ । किसानहरूको बजार पहुँच बढाउने, बाली उत्पादन बढाउने र जलवायुसँग सम्बन्धित असर कम गर्नका लागि उक्त सहयोग रकम खर्च गरिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१, १६:१०