हुम्ला । हिमाली जिल्ला हुम्लाका चार पालिकामा नुनको अभाव भएको छ ।
जिल्लाको ताँजाकोट, अदानचुली, सर्केगाड र चङ्खेलीमा दसैँयता नुन नहुँदा समस्या भएको स्थानीयले बताएका छन् ।
ढुवानीमा अनुदान दिएको नुन जिल्लामा १ किलोको ९ रुपैयाँ पर्ने गरे पनि डिपो केन्द्रहरूमा १ किलोसमेत मौज्दात छैन ।
भौगोलिक विकटताका कारण डिपो केन्द्रहरूमा नुन पुग्न कठिन भएको हो ।
समयमा नुन नपाउँदा भान्सा अलिनो भएको चङ्खेली ३ का स्थानीय बिष्णु पाण्डेले बताउनुभयो ।
उहाँकाअनुसार पालिका केन्द्रहरूमा अनुदानको नुन नपाउँदा बजारमा १ किलो नुनको ५० रुपैयाँ तिरेर खानु पर्ने बाध्यता छ ।
अनुदानको नुन ढुवानीका लागि सप्लायर्स कम्पनीलाई ठेक्का दिएको तर उनीहरूले ढिलो गर्दा समस्या भएको साल्ट ट्रेन्डिङ कर्पोरेसन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१, १२:२६