काठमाडौँ । गुणस्तरीय शिक्षाको लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन २०८१ आजबाट ललितपुरमा सुरु भएको छ ।
यही पुस ७ गतेसम्म अर्थात (२०–२२ डिसेम्बर २०२४) सम्म चल्ने सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेपालको शिक्षा श्रम बजारमा जोडिएर जाने र गरिखाने व्यावसायिक शिक्षाको प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।
संस्कृतिको सम्मान गर्ने र स्वदेशको सम्मान गर्नसक्ने शिक्षा दिन नसक्नु नै आजको महत्वपूर्ण कार्यभार सरकारी र गैरसरकारी क्षेत्रमा रहेको उहाँले बताउनुभयो ।
रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दिक्षितले गुणस्तरीय शिक्षामा सबैको पहुँच पुगोस् भन्ने चाहनाका साथ सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
उहाँले सम्मेलनको मूल उद्देश्य कक्षाकोठाको शिकाइ सुधारका साथै शिक्षामा भएका कमीकमजोरीहरूको निवारण गरेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने बाटो तय गर्नु भएको बताउनुभयो ।
सम्मेलनले नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रमका अन्य वक्ताहरुले राखेका छन् ।
सम्मेलनमा ५ सयभन्दा बढीको सहभागिता रहने छ । सम्मेलनमा ७ ओटै प्रदेशबाट शिक्षक तथा शिक्षाकर्मीको सहभागिता रहेको छ ।
अन्तर्राष्ट्रियस्तरको शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका बर्नार्ड कलेजका प्राध्यापक डा. टोबा क्लेनले विद्यार्थीमा हुने निराशा, चिन्ता र डर हटाउन सक्नु नै गुणस्तरीय शिक्षाको उद्देश्य रहनुपर्नेमा जोड दिनुभयो ।
रातो बङ्गला स्कूलका प्राचार्य मिलन दिक्षितले बालबालिकालाई माया र हेरचाहको भावना वृद्धि गर्न सके बालबालिकाले आफै धेरै कुरा सिक्दै जानसक्ने बताउनुभयो ।
सम्मेलनमा ४२ भन्दा बढी कार्यशाला सञ्चालन हुनेछन् भने ३ वटा बृहत छलफल कार्यक्रम हुनेछन् ।
शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक भावनाको विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्धन, पूर्व प्राथमिक शिक्षालगायतका विषयमा सम्मेलनमा मसिनो ढङ्गले छलफल हुनेछ जनाइएको छ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१, ०८:२५