काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाउनुभयो । कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाउनुभयो । विनादे भण्डारीले ४१ रन बनाउनुभएको थियो । सुदूरपश्चिम अङ्क तालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो ।
एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ ।
तेस्रो टोली कणर्ाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१, १६:१७