काठमाडौँ । नेपालमा विषादी आयात एक सय ६० प्रतिशतले बढेको छ । १० वर्ष यता ६२ लाख ५९ हजार किलो विषादी भित्रिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
जसमा किटनाशक, ढुसीनाशक, जीवाणुनाशक, झारनाशक, मुसानाशक लगायत रहेका छन् ।
केन्द्रका अनुसार १० वर्षअघि यस्तो विषादी आयात वार्षिक साढे चार लाख किलो हुन्थ्यो भने पछिल्ला वर्षहरूमा ११ लाख किलोसम्म विषादी आयात भएको छ ।
आयातित विषादी प्रायः बालीनालीमा प्रयोग हुने गरेको छ । बालीनालीमा विषादीको बढ्दो प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक रहेको कृषि विज्ञहरू बताउँछन् ।
विषादीविज्ञ मनोज पोखरेल किसानले उत्पादन गर्ने वस्तुमा प्रयोग हुने विषादीको अवषेशलाई जाँच गरेर पठाउने क्षमता नभएका कारण जोखिम बढेको बताउनुहुन्छ ।
किसानलाई सुरक्षित विषादी प्रयोग गर्न लगाउने, जैविक विषादीको प्रयोगमा जोड दिने, रासायनिक विषादीको प्रयोग गरिसकेपछि तरकारी वा अन्नबालीको उपभोगका लागि निश्चित समयसम्म पर्खिनु पर्ने लगायत विषयमा ध्यान दिनु पर्ने पोखरेलको सुझाव छ ।
सिफारीसको आधारमा मात्रै विषादीको प्रयोग र विषादीको छनोट गर्दा प्राविधिकको सल्लाह महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् ।
पोखरेल भन्नुहुन्छ ‘विषादी बारेको सोच परिवर्तन नभएसम्म यसबाट जोगिन मुस्किल पर्छ । विषादीबाट आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नेबारे हरेकले विचार गर्नुपर्ने बेला आएको छ ।’
विषादीको प्रयोगलाई पूर्ण रूपमा रोक्न नसकिने र यो सम्भव पनि नहुने उहाँको भनाइ छ । विषादीको सुरक्षित प्रयोगमा किसान, उपभोक्ता र राज्यले काम गर्नुपर्छ । नयाँनयाँ रोग किराको प्रकोप बढिरहेका कारण रासायनिक विषादीको प्रयोग पनि बढिरहेको पोखरेलले बताउनुभयो ।
खेतबारीमा विषादीको प्रयोग कसरी गर्ने ?
सबैभन्दा पहिले किसानले लगाउने अन्नबाली र तरकारीमा देखा परेका समस्याको पहिचानमा ध्यान दिनुपर्छ । त्यसका लागि किसानले नजिकै रहेका कृषि प्राविधिकहरूसँग सल्लाहसुझाव र सहयोग लिन सक्छन् ।
घरयासी प्रयोगका लागि थोरै क्षेत्रफलमा गरिएको खेतीमा विषादीको प्रयोग अनिवार्य नहुन पनि सक्छ । जैविक विषादीको प्रयोगबाट पनि किरा भगाउन सकिन्छ भने रोग लाग्नबाटै जोगाउन पनि सकिन्छ ।
यदी विषादी नै प्रयोग गर्ने हो भने पनि रोगको पहिचान गरेर प्राविधिकको सिफारिसको आधारमा मात्र प्रयोग गर्नुपर्छ ।
महत्वपूर्ण कुरा, धेरै किरा मार्ने उद्धेश्यले सिफारिस मात्रा भन्दा बढी विषादी प्रयोग गर्नु हुँदैन । अनि विषादी प्रयोग गरिसकेपछि, तरकारी वा अन्नबालीको उपभोगका लागि तोकिए अनुसारको दिन पर्खिनै पर्छ ।
खेतबारीमा विषादी हाल्दा, प्रयोगकर्ताले सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा विषादीलाई खाली हातले छुनु हुँदैन् ।
हातमा पञ्जा, खुट्टामा बुट, आँखामा चस्मा र पुरै शरीर छोपिने खालको सुरक्षित कपडा लगाएर मात्रै विषादी छर्किनुपर्छ ।
सुरक्षित रूपमा विषादी प्रयोग गर्ने तरिका, मात्रा र अन्य कतिपय विषय विषादीकै बट्टा वा खोलमा पनि लेखिएको हुन्छ । त्यस्ता कुरा किसान आफैँले पनि पढ्न सक्छन् ।
बजारका तरकारीमा विषादी भएको वा नभएको कसरी चिन्ने ?
सकेसम्म बेमौसमी तरकारीको उपभोग गर्नुहुँदैन । बेमौसमी तरकारीमा रोग किरा धेरै लाग्ने गरेको अनुसन्धानले नै देखाएको छ ।
सकभर मौसमी तरकारी र फलफूल खानुपर्छ । यो नै विषादीबाट जोगिने सबैभन्दा उत्तम उपाय हो ।
तरकारी वा फलफूल छनोट गर्दा, थोरै किरा लागेको छ भने त्यस्ता तरकारी वा फलफूल किन्न हामी हिच्किचाउँछौ तर त्यस्तो गर्नु हुँदैन ।
किरासहितको तरकारी वा फलफूल छ भने, विषादीरहित हुनसक्ने सङ्केतका रूपमा बुझ्न सकिन्छ । त्यस्तो तरकारी वा फलफूलमा सामान्यतय विषादी हुँदैन । भइहाले पनि स्वास्थ्यलाई हानि नगर्ने मात्रामा हुनसक्छ ।
एकै प्रकारका तरकारी मात्रै उपभोग गर्नु हुँदैन । उदाहरणका लागि भ्यान्टा, भिन्डी, सिमी, करेला लगायतका हरिया तरकारीमा विषादी प्रयोग गरिएको हुनसक्छ । बरु, जरा भएका तरकारीको उपभोग सुरक्षित हुन्छ । गेडागुडी पनि धेरै हदसम्म सुरक्षित नै मान्न सकिन्छ ।
पकाउनु वा खानु अघि तरकारी र फलफूललाई कसरी सफा गर्ने ?
बजारबाट किनेर ल्याएको तरकारी वा फलफूललाई जमेको पानीमा भन्दा पनि बगिरहेको धाराको पानीमा राम्रोसँग धुनुपर्छ । त्यसरी धोइसकेपछि १५ मिनेटसम्म थोरै नुन पानीमा डुवाएर राख्ने, त्यसपछि फेरि सफा गरेर मात्र पकाउनु पर्छ ।
यसले पनि विषादीको मात्रा घटाउन सहयोग गर्छ । धेरै पत्र भएको फलफूल र तरकारीका बाहिरी पत्रहरु फालिदिनुपर्छ ।
यसरी पनि विषादीबाट जोगिन सकिन्छ । यस्ता तरकारीलाई केही दिन ओइल्याएर, सुकाएर र अमिल्याएर पनि खान सकिन्छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१, १४:१०