काठमाडौँ । आज देशका विभिन्न ठाउँमा हिउँ र पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले आज रातिदेखि पर्सिसम्म नै देशका विभिन्न ठाउँमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले विशेषगरि पहाडी भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको सीआईएनलाई जानकारी दिनुभयो । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ भने, गण्डकी र बागमतिमा हल्का वर्षाको सम्भावना छ । लामिछानेका अनुसार पश्चिमी वायुकै प्रभावले आज दिनभरी देशभर जसो कहिले घाम लाग्ने कहिले बादल लाग्ने हुनेछ । जसका कारण चिसो समेत बढ्ने भन्दै न्यानो भएर बस्न उहाँले अनुरोध गर्नुभयो ।
काठमाडौँको आज बिहानको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । हिजो न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम थोरै घटेको हो । त्यसअघि अस्ति बुधबार काठमाडाँैको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । आज पानी परेपछि न्यूनतमसँगै अधिकतम तापक्रम पनि घटेर चिसो बढ्ने मौसमविद् लामिछानेको भनाइ छ । चिसो बढ्ने भएकाले स्वास्थ्य समस्या थपिन सक्ने भन्दै उहाँले न्यानो भएर बस्न पनि अनुरोध गर्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि बिहानदेखि मौसममा सुधार आएपनि पूर्ण रुपमा खुल्न भने केही दिन लाग्ने छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१, ०८:४६