दाङ । दाङको प्रमुख पर्यटकीयस्थल छिल्लीकोटमा जिपलाइन सञ्चालनमा आएको छ।
तुलसीपुर उपमहानगरपालिका-१९ मा पर्ने छिल्लीकोटमा गएको बुधबार (पुस १७) बाट सुरु भएको जिपलाइनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको सञ्चालक शिव श्रेष्ठले बताउनुभयो ।
छिल्लीकोटमा जिपलाइन निर्माणको काम सकिएर सञ्चालनमा आएपनि औपचारिक उद्घाटन हुन भने बाँकी रहेको छ।
क्याफे र शौचालय निर्माणको केही काम बाँकी रहेकाले आगामी फागुनमा औपचारिक उद्घाटन गर्ने तयारी भएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो।
छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त जिपलाइन, तुलसीपुर-११ कटाहका युवा व्यवसायी श्रीधर न्यौपाने र तुलसीपुर-५ का शिव श्रेष्ठले १ करोड ६५ लाखको लागतमा सञ्चालनमा ल्याउनुभएको हो।
भौतिक संरचना निर्माणको काम अहिले भैरहेकाले यसको लागत करिब २ करोड लाग्ने अनुमान गरिएको सञ्चालकको भनाइ छ।
सञ्चालक मध्येका एक न्यौपाने सूचना प्रविधिमा काविल युवा व्यवसायी मानिनुहुन्छ । श्रेष्ठ भने तुलसीपुरका मेडिकल व्यवसायी हुनुहुन्छ।
जिपलाइन सञ्चालनमा नेपाली कामदारलाई प्रशिक्षणका लागि अहिले दुई जना प्राविधिक भारतको कोलकत्ताबाट ल्याइएको छ।
उनीहरू सहित ६ जना कर्मचारीले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन्। पर्यटकको सङ्ख्या बढ्दै जाँदा करिब १० जनाले रोजगारी प्राप्त गर्ने निर्माण कम्पनीले जनाएको छ।
छिल्लीकोटमा जिपलाइन निर्माणका लागि २८ साउन २०७८ मा स्थानीय भुल्के सामुदायिक वनसँग सम्झौता भएको थियो ।
प्रक्रियागत रुपमा काम गर्नुपर्ने भएकाले सम्झौता भएका मितिबाट करिब ६ महिनापछि ५ माघ २०७८ मा जिपलाइनको औपचारिक रुपमा निर्माणको काम सुरु भएको अर्का सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिनुभयो।
जिपलाइन १ हजार १ सय मिटर लामो दूरीमा छ भने टेक अफ टावर र ल्याण्डिङ टावर उचाइ एक सय ३२ डिग्री एलिभेसनमा छ।
छिल्लीकोटमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्नका लागि होमस्टेको पनि व्यवस्था रहेको छ। ऐतिहासिक एवं धार्मिक स्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ।
पर्यटकहरूले जिपलाइनको साहसिक यात्रासँगै मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरूको मनोरम परिदृश्य, मालागेडीको वन, चराचुरुङ्गीहरूको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न पाउने छन्। छिल्लीकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१, ०९:४२