काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपर जोन बनाउने सुरुको लक्ष्य पूरा भएको छ ।
परियोजना अवधिमा सम्भाव्यताको आधारमा सुपर जोन सङ्ख्या न्यूनतम २१ पुर्याउने लक्ष्य थियो ।
परियोजना अन्तरगत, सुपर जोन राष्ट्रिय प्राथमिकताका आधारमा न्यूनतम १ हजार हेक्टर क्षेत्रफलमा सञ्चालन भएको बृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रका रूपमा रहने गरी २०७३ मा सुरु भएको कार्यक्रम हो ।
लक्ष्यअनुसार सुपरजोन निर्माण भएकाले परियोजनाको निर्देशक समितिले २०८० चैत २२ मा तरकारी तथा फलफूलका थप ५ जोनलाई सुपर जोन बनाउने निर्णय गरेको छ ।
तर बनिसकेका सुपर जोनको अवस्था भने सन्तोषजनक देखिएको छैन ।
परियोजनाका सूचना अधिकारी हिक्मत कुमार श्रेष्ठले राम्रा रहेका सुपरजोनका आधारमा अन्य सुपरजोनको सुधार गर्दै जाने बताउनुभयो ।
सुपर जोनमा स्रोत केन्द्र स्थापना सहयोग अन्तर्गत प्रजनन बीउ उत्पादन, नियामक प्रयोगशालाहरू स्थापना, जैविक विषादी उत्पादन केन्द्र, ठूला कृषि बजारहरू, ठूला सिँचाइ पूर्वाधारहरू, कृषि तालिम केन्द्रलगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरी कृषि आधुनिकिकरण उन्मुख बनाइने उल्लेख छ ।
तर बनेका सुपरजोनमा यस्ता सुविधाहरू नभएको सेवाग्राहीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१, १२:४९