गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचार–प्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ ।
गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोटहुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डौँको हनुमान ढोका दरवारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
गोरखा दरवारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको उहाँले बताउनुभयो ।
दरवारस्थित हनुमान भञ्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा र टर्च लाइट बोकेर सेनाको टोली पदयात्रामा निस्किएको प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो ।
पृथ्वीनारायण शाहले खडा गरेको तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सवुज गणको झण्डासमेत सेनाले बोकेको छ ।
सेनाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकासंगको सहकार्यमा ए्कीकरण पदयात्राको थालनी गरेको हो ।
गोरखाबाट निस्किएको टोलीले आज धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।
नुवाकोटको सेनाको टोलीले गोरखाबाट लगिएको झण्डा र टर्च लाइट काठमाडौँको सेनाको टोलीलाई हस्तान्तरण गर्नेछ ।
वर्तमान नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले गएको ६ वर्षदेखि एकिकरण पदमार्गको रूपमा विकास गर्दै प्रचार–प्रसारका लागि पदयात्रा गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१, १६:०३