कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरका घनश्याम पौडेल १४ वर्षदेखि मौरीपालन व्यवसायमा लागेर नाम र दाम दुबै कमाउन सफल हुनुभएको छ ।
पौडेल हिजोआज तोरीको मह सङ्कलन गर्ने समय भएकाले मारीको स्याहारमा व्यस्त हुनुहुन्छ । सुरुमा ५ घार मौरीबाट व्यवसाय थाल्नुभएका पौडेलसँग अहिले अहिले ५५ घार मौरी छन् ।
यसबीचमा उहाँले एक सय ४० घारसम्म मौरी पाल्नुभएको थियो । मौरीको मह मात्र नभइ मौरी चाहिएकालाई मौरीका घारसमेत बेच्ने भएकाले अहिले मौरीको सङ्ख्या कम भएको हो ।
पहिले पत्रकारिता गर्ने पौडेलले स्थानीय प्रगतिशील मौरीपालन सहकारी संस्थाका कथाव्याथा लेख्दालेख्दै आफू पनि मौरी पालन व्यवसायमा जोडिन पुगेको बताउनुभयो ।
उहाँलाई मौरीपालन व्यवसाय गर्न घरपरिवारले पूर्ण रूपमा साथ दिएको छ भने आवश्यक परेको खण्डमा अन्य व्यक्तिको पनि सहयोग माग्नुहुन्छ ।
पहिलेपहिले मौरीको महको व्यापार राम्रो नभए पनि कोरोनापछि मानिसहरूले मह खान थालेका र आफ्नो व्यापार पनि राम्रो भएको पौडेलको अनुभव रहेको छ ।
अहिले पौडेल वर्षमा २० देखि ३० क्विन्टलसम्म मह उत्पादन गर्नुहुन्छ । त्यो मह प्रति किलो ५ सय देखि ८ सय रुपैयाँका दरले बजारमा बेच्ने गर्नुहुन्छ ।
त्यसबाट पौडेललाई राम्रो आम्दानी भइरहेको छ । सुरुमा घार किन्ने समयमा प्रति घारको १० हजार रुपैया पर्ने भए पनि पछि अन्य खर्च कम लाग्ने भएकाले यो व्यवसायबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको पौडेलले सुनाउनुभयो ।
‘आफूलाई भएको राम्रो आम्दानीलाई मात्र हेरेर हुँदैन । बजारमा उपभोक्ताहरूलाई पनि राम्रो मह खुवाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । म त्यसैमा ध्यान दिएर मह उत्पादनमा लागिरहेको छु । तर पछिल्लो समय बजारमा केहि व्यक्तिले राम्रो मह भन्दै विभिन्न केमिकल मिसाएर बेच्ने गरेका र त्यसबाट उपभोक्ताई ठूलो असर परिरहेको छ ।’ उपभोक्तालाई पौडेलको आग्रह छ ।
यदि मह खानुपर्यो भने स्थानीय स्तरमा चिनेजानेको व्यक्तिबाट खरिद गरेर खानसमेत आग्रह गर्नु भएको छ ।
गर्मीको समयमा भने कैलालीमा तापक्रम बढी हुने भएकाले त्यसबेला मौरी जोगाउन र चराउन पौडेल दाङ जिल्लामा समेत पुग्नु हुन्छ भने अन्य समयमा कैलाली जिल्लामै मौरी पालन गर्दै आउनु भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१, १०:५२