पुनम ऐडी, जयपृथ्वी एफ.एम.
बझाङ । बझाङमा भुवो खेल्ने प्रचलन कायमै रहे पनि बाजा बजाउने सीप र ज्ञान भएका जनशक्ति नहुँदा समस्या भएको छ ।
कतिपय गाउँमा भुवो खेल्ने मानिस छन् तर बाजा बजाउने मानिस भेटिन छाडेका छन् । कतिपय ठाउँमा बाजा बजाउने भए पनि युवा पुस्ताका मानिसलाई भुवो खेल्न नआउने समस्या देखिएको हो ।
जयपृथ्वी नगरपालिका ९ देवलमा राँका हालेर भुवो उद्घाटन गरिए पनि केही दिन बाजा बजाउने कलाकौशलता भएका मानिस अभावमा भुवा पर्वको रमाइलो नभएको स्थानीय युवा नरेन्द्र खड्काले बताउनुभयो ।
उहाँका अनुसार अचेल भुवो खेलिँदैछ तर बाजा बजाउने सीमित जनशक्ति भएका कारण कुन गाउँ तथा टोलमा जाने भन्ने बारे उनीहरुमा पनि अलमल हुने गरेको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेशमा पनि यस्तै अवस्था छ ।
सबैभन्दा बढी दलित बस्ती भएको पडेश गाउँका बाजा बजाउने कलाकौशल भएकाहरू अन्य गाउँतिर पनि विभाजित हुँदा बाजाको ताल बिग्रने गरेको स्थानीय शान्तराज जोशीले बताउनुभयो ।
दुईतीन जना बाजा बजाउनेहरूको बीचमा सयौँ जनाले भुवोभस्सो खेल्दा रोमाञ्चक नहुने गरेको उहाँको भनाइ छ ।
पडेशकै दलित समुदायका मानिसहरू अहिले भुवाकै लागि गोलाई, मोर्तली लगायतका गाउँमा विभाजित हुने गरेका छन् । पहिले दमाउ बजा, टाम्को, सहनाई, झ्याली सबै बाजाको तारतम्य मिल्दा भुवा खेल्दा थप आकर्षक हुने गर्थ्यो ।
अहिले केवल संस्कृति जोगाउने काम मात्रै भएको स्थानीय दिनेश रोकायाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१, १३:०५