काठमाडौँ । डिजिटल प्रविधि र सामाजिक सञ्जालको विकाससँगै सामुदायिक प्रसारणलाई रुपान्तरण गर्दै लैजाने सामुदायिक रेडियो प्रसारकहरूले बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा सामुदायिक रेडियोको साझेदारी, दिगोपना र नेतृत्व विकासको बारेमा आज ललितपुरमा भएको छलफल कार्यक्रममा सङ्घका पदाधिकारी तथा रेडियो प्रसारकहरूले सो कुरा बताएका हुन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ, नेपालको केन्द्रीय कार्यसमिति, लेखा समिति, सदाचार समिति र प्रदेश अध्यक्षहरूको सहभागितामा सामुदायिक रेडियोको वर्तमान अवस्थाको समीक्षा गर्दै अबको कार्यदिशा तय गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।
सङ्घका पूर्व अध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोले साझेदारी गर्ने संस्थाहरूको सङ्ख्या बढाएर दिगोपनका लागि काम गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक रेडियोले साझेदारी बिस्तार र बजारिकणका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
सामुदायिक रेडियोलाई स्थानीय सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्नको लागि पनि सबै रेडियो एकजुट भएर अघि बढ्नुपर्ने पूर्व अध्यक्ष एवं अमार्क एसिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले बताउनुभयो ।
सामुदायिक रेडियोको सुशासन, दायित्व र संरचनागत सक्रियतालाई अझै बजबुत बनाउदै स्रोताको चाहना अनुसार प्रसारणलाई अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।
अमार्क एसिया प्यासिफिकका कार्यकारी निर्देशक सुमन बस्नेतले डिजिटल युगमा सामुदायिक रेडियोले आफ्नो अस्तित्व पनि जोगाउनु पर्ने र आफूलाई रुपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो ।
अकोराबका महासचिव बन्दना दनुवारले सामुदायिक रेडियोले महिला र सीमान्तकृत समुदायका आवाजलाई पनि उजागर गरेको उल्लेख गर्दै प्रभावकारी रूपमा सेवा दिनसक्ने वातावरणका लागि रेडियोलाई पनि बलियो बनाउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१, १४:१०