काठमाडौँ । जोखिममा परेका ७ सय ८६ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाईमार्फत सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि निशुल्क हवाई उद्धार सेवा दिँदै आएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै ७२ जनाको उद्धार गरिएको छ ।
यो सेवा १८ घण्टाभन्दा बढी सुत्केरी बेथा लागेमा, बच्चाको हात, खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएमा, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केमा, गर्भमा नै बच्चाको मृत्यु भएमा, गर्भवस्थामा हात, खुट्टा र शरीर धेरै सुन्निनेलगायतका अवस्थामा दिइँदै आएको कार्यक्रम समन्वय एकाइ प्रमुख इन्दिरा आचार्यले सीआईएनसँग बताउनुभयो ।
सरकारले १९ जिल्लामा पूर्ण, २९ जिल्लामा आंशिक गरि कुल २ सय ५९ पालिकामा हवाइ उद्धार सेवा दिँदै आएको छ ।
यसरी उद्धार गरिएका महिलालाई यातायात खर्च वापत २० हजार रुपैयाँसमेत दिने गरिएको छ ।
अझै पनि दुर्गम क्षेत्रका सबै गर्भवति महिलाले हवाई उद्धारको सुविधा पाउन सकेका छैनन् ।
ही दिन अघि मात्रै बझाङको केदारस्युँ गाउँपालिकामा अत्यधिक रक्तश्राव भएका कारण एक सुत्केरी महिला र उनले जन्माएको शिशुको बाटोमै मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१, १४:४८