काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र सार्वजनिक सेवा प्रशारण संस्था (पीएसबी ) बीच समुदायस्तरमा सूचनाको पहुँच बढाउन सहकार्य गर्ने सहमति भएको छ ।
आज सिंहदरबारस्थित सार्वजनिक सेवा प्रशारणको कार्यालयमा भएको छलफलपछि दुई संस्थाबीच समुदायस्तरमा सूचनाको पहुँच बढाउन समाचार सामग्री, सूचना र उठान गरिएका मुद्दालाई निष्कर्षमा पुर्याउन सहकार्य गर्ने सहमति भएको हो ।
छलफलमा अकोराब अध्यक्ष अर्जुन गिरीसहितका पदाधिकारी र पीएसबीका अध्यक्ष डा. महेन्द्र बिष्टसहितका पदाधिकारी, रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत वरिष्ट पत्रकारहरू सहभागी थिए ।
छलफलमा अकोराबका महासचिव बन्दना दनुवारले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन अकोराब र पीएसबीबीच गर्न सकिने सहकार्यका विषयसहितको अवधारणापत्र लिखित रूपमै पीएसबीका अध्यक्ष विष्टलाई हस्तान्तरण गर्नुभयो ।
ऐन्मा उल्लेखित सार्बजनिक सेवा प्रसारण संस्थाको कार्यहरूलाई नेपालका सामुदायिक रेडियोहरूले अभ्यास गरिरहेकोले समुदायको आवश्यकतामा आधारित सार्वजनिक सरोकारका विषयको उत्पादन तथा प्रसारणको प्रभावकारिता र व्यापक पहुँचका लागि प्रसारण क्षेत्रमा भएको विकास र प्रविधिसँगै जोड्दै संयुक्त रूपमा अगाडि बढ्नको लागि सहकार्य गर्ने अवधारणापत्रमा उल्लेख छ ।
प्रेस काउन्सिल नेपालमा नेपाल पत्रकार महासँघका अध्यक्षको प्रतिनिधित्व जस्तै सार्वजनिक प्रसारण संस्थाको बोर्डमा नेपालका सामुदायिक रेडियोहरूको तर्फबाट अकोराबको बहालवाला अध्यक्षको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेसमेत उल्लेख गरिएको महासचिव दनुवारले बताउनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले पीएसबी र अकोराबको उद्धेश्य एउटै भएकाले सहकार्यको सहमति साझा लक्ष प्राप्तिका लागि विशेष भएको बताउनुभयो ।
उहाँले अकोराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन ) मार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनका उत्पादन प्रशारण गर्न सकिने र रेडियो नेपाल र नेपाल टेलिभिजनका उत्पादन सीआईएनमार्फत प्रशारणको वातावारण मिलाइने समेत बताउनुभयो ।
पीएसबीका अध्यक्ष बिष्टले सूचनालाई समुदायस्तरमा जोड्न अकोराब र सीआईएनको भूमिका महत्वपूर्ण देखिएको बताउँदै सार्वजनिक सेवा प्रशारणलाई अझ बलियो बनाउन यी संस्थासँगको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
हाल भएको छलफललाई व्यवस्थित गर्न लिखित रूपमा नै सहमति गरी कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयस्तरमा सूचना आदानप्रदानसँगै सीप, प्रविधि र दक्षता विकासमा समेत सहकार्य गर्न सकिने छलफलमा सहभागीहरूले धारणा राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१, १७:०९