काठमाडौँ । सहकारी वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको छ ।
न्यायाधीश नितिज राईको इजलासले आज लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका अरुलाई पनि धरौटीमा छोड्न आदेश भएको छ ।
लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई ८८ लाख, लिला पछाईलाई ३७ लाख र राम बहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।
पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङलाई ५/५ लाख, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर गुरुङलाई १ लाख रुपैयाँ धरौटीमा छोड्नसमेत आदेश जारी भएको रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले सीआईएनलाई जानकारी दिनुभयो ।
लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१, १८:०३