काठमाडौँ । गएको ६ महिनामा रोजगारीका लागि विदेश गएका करिब १ हजार श्रमिक अलपत्र परेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ९ सय ५४ जनाले विदेशमा अलपत्र परेको भन्दै उजुरी दिएका छन् ।
गत पुस महिनामा मात्रै १ सय ३४ जना नेपाली श्रमिक विदेशमा अलपत्र परेका भन्दै उजुरी गरेका छन् ।
उजुरी गर्नेमा अधिकांश भने अनुसारको रोजगारी नपाएको, सम्झौताअनुसार तलब सुविधा नपाएको र कम्पनी नै फरक परेका श्रमिक रहेका छन् ।
जसमा सरकारले ६४ जनाको उद्धार गरेको छ भने ४ जनालाई नेपाल फिर्ता बोलाइएको छ ।
तामेलीमा ३३ वटा उजुरीसमेत गरेर जम्मा ५ सय २० वटा उजुरीको सुनवाइ भएको छ । अझै पनि ४० प्रतिशत भन्दा बढी ४ सय ३४ जनाको उजुरी भने सुनुवाइ हुन सकेको छैन ।
उनीहरू जोखिम मोलेर नै विदेशमा काम गरिहेका छन् ।
सरकारले विशेष परिस्थितिमा गरिएका उजुरीको सुनुवाइ गर्न्समेत किन ढिलो गर्छ भन्ने प्रश्नमा सीआईएनसँग कुरा गर्दै विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले नागरिकस्तरमा समेत सचेतनाको आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले जानु पूर्व आफ्ना क्षमता विकास गर्ने, सीप सिक्ने, भाषा सिक्ने र सम्झौता गर्दा नै श्रमिकले ध्यान दिनुपर्ने बताउनुभयो ।
विभागकाअनुसार वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्नेको सङ्ख्या बढेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्रै विभागको मुद्दा शाखामा २ हजार १६ र प्रहरीमा २१ सय ४६ गरेर ४ हजार १ सय ६० उजुरी दर्ता भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१, १६:४३