सल्यान । सल्यानका ५४ हजार घरधुरीमध्ये ३२ हजार घरधुरीमा बिजुली बलिसकेको छ ।
एकातिर जिल्लामा पनि विद्युतीकरणका काम चलिरहेको छ, अर्कातिर करिब १० वर्षअघि गाडिएका पुराना र जीर्ण काठे पोल प्रतिस्थापन नहुँदा दुर्घटनाको जोखिम पनि उतिकै छ ।
सल्यानको त्रिबेणी गाउँपालिका–६ भुम्केज्युलाका छवि थापाको घर छेवैमा विजुलीको पोल छ । करिब २२ वर्षअघि विजुली विस्तारको क्रममा काठको पोल गाडियो ।
जीर्ण पोल र लत्रिएका तारले गर्दा परालको टौवामा आगलागी भएको सुनाउँदै मानवीय क्षतिको जोखिम रहेको बताउनुभयो ।
भुम्केज्युलाकै बिपिन ओलीको घर अगाडि विजुलीको काठे पोल ढल्यो । काठको जीर्ण पोलमा विजुली नभएको र घरको छानो टिनको भएकाले थप क्षति भएन ।
तैपनि काठका पोल हटाउनै पर्ने उहाँको माग छ । त्रिबेणीको भुम्केज्युला, मजाउखोला र दामिज्युलाखोला पारी गरेर करिब ८० वटा काठका पोल छन् ।
अहिलेसम्म काठका पोल नहटाइँदा यहाँका नागरिक कुहिएका पोलबाट जोखिम मोलेर विजुली उपयोग गर्न बाध्य छन् ।
जीर्ण काठका पोल हटाउन माग गर्दै विद्युत कार्यायलसम्म पुगे पनि कुनै सुनुवाइ नभएको स्थानीय ओजबहादुर खत्रीले बताउनुभयो ।
यस क्षेत्रमा २०६२ सालमा काठका पोलबाट विद्युत विस्तार भएको थियो । तर पोल प्रतिस्थापन नहुँदा कुहिएका काठका पोल पटक–पटक भाँचिएर ढल्ले गरेका छन् ।
भाँचिएर बाँकी रहेका पोल फेरि गाडेर नागरिकले विद्युत उपयोग गरिरहेका छन् ।
त्रिबेणी गाउँपालिका–६ का वडाअध्यक्ष मनोज शाह जीर्ण काठका पोल परिवर्तन गर्न विद्युत कार्यालयमा आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाएको गुनासो गर्नुहुन्छ ।
त्रिवेणी र छत्रेश्वरीका बस्तीमा शङ्खमुल ग्रामीण विद्युतीकरण एवम् वितरण सामुदायिक संस्थाबाट विद्युतीकरणको काम भएको थियो ।
तर सामुदायिक संस्था खारेज भएसँगै पुराना काठका पोल परिर्वतनमा समस्या भएको छ ।
वर्षौँदेखिका काठका पोल हटाउन बजेट आइसकेको र केही समयमै काम सुरु गरिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेलले बताउनुभयो ।
काठका पोल जीर्ण भएका कारण हावा चल्दा, पानी पर्दा र पोलमा चरा बस्दा तार सर्ट भएर आगोका झिल्का निस्कने गरेका छन् ।
तसर्थ काठे पोल हटाएर विद्युतीय दुर्घटनाको जोखिमबाट नागरिकलाई जोगाउन तत्काल सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सरोकारवाला निकायको माग छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१, ११:२५