धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ गुरुङ टोलकी ६८ वर्षकी दिलकुमारी गुरुङले किशारावस्थामा पढ्न नपाउँदा निकै दुख भोग्नुपर्यो ।
ल्याप्चे लाउनु नपरोस् भनेर अहिले ढल्किँदो उमेर भए पनि अक्षर चिन्ने कोसिसमा उहाँ हुनुहुन्छ ।
छथरजोरपाटी गाउँपालिका–६ गुरुङ टोलकै ५३ वर्षकी डोल्मा शेर्पा अहिले घरको हजार काम छोडेर भए पनि कखरा सिकिरहनु भएको छ ।
उहाँलाई पनि अक्षर चिन्न बुढ्यौली हुँदै गएको उमेरले छेकेको छैन । पढ्न न उमेरले छेक्छ, न पारिवारिक झमेलाले ।
६० वर्षकी प्रेमकुमारी थापाले सानोमा पढ्न पाउनु भएन । तर बुढेसकालमा चिनेका अक्षर उहाँका लागि आँखा बनेका छन् ।
![IMG-20250131-WA0002-1738305479.jpg](https://www.cinkhabar.com/uploads/posts/IMG-20250131-WA0002-1738305479.jpg)
थापा बल्लतल्ल नाम लेख्न सक्ने हुनुभएको छ । सिँधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गाउँपालिकासँगकै साझदारीमा साक्षरता कार्यक्रम गरिरहेको छ ।
अहिले निरक्षर रहेका पाका पुस्तालाई विदेशमा रहेका सन्तानसँग बोल्न सजिलो बनाउन पनि प्रौढ कक्षा सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरे बताउनुहुन्छ ।
धनकुटामा ९७ दशमलव २५ प्रतिशत मानिस लेखपढ गर्न सक्ने भएको भन्दै २०७३ साल मङ्सिर २० गते जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।
कोशी प्रदेशको १४ वटै जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले २०७९ साल भदौ २३ गते साक्षर प्रदेश घोषणा गरिएको थियो ।
अहिले पनि छथरजोरपाटी गाउँपालिकाले आफ्ना सबै नागरिकलाई साक्षर बनाउन पहल गरिरहेको बताउनु हुन्छ, उपाध्यक्ष गीता खेवा गुरुङ ।
शिक्षा आफैँमा पनि महत्वपूर्ण छ । सबैलाई साक्षर नबनाई हतारमा साक्षर जिल्ला घोषणा गरिए पनि, पालिकाले थालेको पौढ शिक्षा पढाउने पछिल्लो कदमको धेरैले प्रशंसा गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१, १२:२३