रेडियो महाभारत, सिन्धुली
संघ, प्रदेश र स्थानीय सरकारले सामुहिक कृषि र पशुपालनल व्यवसायलाई महत्व दिएपछि युवाहरु स्वरोजगार बन्ने क्रम बढेको छ ।
स्थानीय सरकारको अनुदानमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा युवाहरुले सामूहिक रुपमा माछा पालन व्यवसाय थालेका छन् ।
गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारका ६ जना युवाले निरन्तर कृषक समूह गठन गरी सामुहिक रुपमा व्यवसायिक माछा पालन सुरु गरेका छन् ।
गोलन्जोर गाउँपालिका –३ को ज्यामिरे फाँटमा १० रोपनी जग्गा भाडामा लिएर, ३ वटा पोखरी निर्माण गरी माछा पालन सुरु गरेको समुहका अध्यक्ष ओम कुमार कार्कीले बताउनुभयो ।
सिन्धुलीमा विपी राजमार्ग र मध्य पहाडी लोकमार्ग सञ्चालन भएसँगै ग्वाल्टार, खुर्कोट, खाल्टे, मुल्कोट, नेपालथोक लगाएत यस सडक आसपास अहिले थुप्रै होटल सञ्चालनमा छन् ।
यस्ता होटलमा तराई र भारतबाट ल्याइएको माछा पाक्ने गरेको छ । तर ग्वाल्टारमा गरिएको माछा पालन व्यवसायले बाहिरबाट आयात गरिने माछा प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
समूहले माछा पालन व्यवसाय सुरु गर्न १७ लाख लगानी गरेको छ । त्यसमध्ये साढे १० लाख गोलन्जोर गाउँपालिकाले अनुदान दिएको छ ।
वैदेशिक रोजागरीमा एक दशक बिताएका देखि गाउँमा बेरोजगार भएर बसेका युवाहरु मिलेर माछा पालन थालेका हुन् ।
सामुहिक रुपमा सुरु गरेको माछा पालन अरु युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने बैदेशिक रोजगारीबाट फर्र्किएर माछापालनमा लाग्नुभएका समूहका सदस्य ध्रुव थापाको विश्वास छ ।
युवाहरुले गोलन्जोर गाउँपालिकामै ६० रोपनी जग्गामा तरकारी खेती र पशुपालन व्यवसाय गर्ने समेत योजना बनाएका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६, ०९:२८