काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका १ हजारभन्दा धेरै नेपालीको सूची सार्वजनिक गरे पनि उनीहरूलाई स्वदेश फर्काउन सरकारले गृहकार्य अघि बढाएको छैन ।
रोकारवाला निकायले भने अरु मुलुकले अमेरिकामा रहेका आफ्ना नागरिकको उद्धार र व्यवस्थापनमा चासो देखाए पनि नेपालले बेवास्ता गरेको टिप्पणी गर्दै आएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै कुटनीतिका जानकार डा अग्नीपुञ्ज चन्दले नेपाल सरकारले अहिलेसम्म पनि यसबारेमा कुनै छलफल अघि नबढाउनु दुखद भएको टिप्पणी गर्नुभयो ।
आफ्ना नागरिकको स्वदेश फिर्तीका लागि नेपालले रगौरव अमेरिकासँग प्रस्ताव गर्नु राम्रो हुने उहाँको भनाइ छ ।
भारतले आफ्ना १५ हजार नागरिक फिर्ता लिने घोषणा गरिसकेको छ भने मेक्सिको सरकारले पुनःस्थापनाका लागि विशेष योजना अघि सारेको छ ।
अमेरिकामा रहेका अवैध आप्रवासी नेपालीलाई फर्काउने बारेमा जानकारी आएमा उद्धारका लागि समन्वय र छलफल अघि बढाउने संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राज किशोर यादबले सीआईएनसँग बताउनुभयो ।
अमेरिकाले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यहाँ रहेका लाखौँ अवैध आप्रवासी समस्यामा छन् ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१, ०८:५७