काठमाडौँ । महिलामा हुने पाठेघरको मुखको क्यासरविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ ।
विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाउन थालेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यो खोप अभियान सफल पार्न किशोरी, उनीहरूका अभिभावक. समाज र सरोकारवाला सबैको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
खोप अभियान सफलताको शुभकामना दिँदै उहाँले तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउने वातावरण बनाउन अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एचपीभी खोप अभियानले किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरसँग लड्नका लागि सहयोग गर्ने भएकाले ढुक्क भएर लगाउन अनुरोध गर्नुभएको छ ।
विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
देशभर करिब १७ लाख किशोरीलाई खोप दिइने छ ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो ।
५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१, ०७:५२