दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को छिल्लीकोट गाउँमा शिवा रोकाको घर छ ।
यो बस्ती उपमहानगरपालिकाको पहाडी क्षेत्र तथा विकट भू–भागमा पर्छ । भिरालो जमिन, सिँचाइ सुविधा नभएकाले यहाँ अन्नबाली उत्पादन त्यति राम्रो हुँदैन ।
खेतीपाती गर्न चाहेर पनि आकासे पानीकै भरपर्नुपर्ने बाध्यता यहाँका नागरिकको छ । सिँचाइको त समस्या थियो नै, बारीमा रोपेका अन्नबाली जङ्गली जनावर, बँदेल र बाँदरले नोक्सान गर्ने भएकाले रोकासहितका किसानहरूले स्याहार्न पाउँदैनथे ।
त्यसकै विकल्पमा हिजोआज यो गाउँका सबैजसो किसानहरूले आफ्नो बारीमा मालागेडी अर्थात सुगन्धकोकिला रोपेर हुर्काइरहेका छन् ।
अहिले शिवाको बारीमा मालागेडीका १५ वटा रुख छन् । उहाँले यो वर्ष प्रतिक्विन्टल ५० हजारका दरले चार क्विन्टल मालागेडी बेचेर दुई लाख आम्दानी गर्नुभयो ।
परिवारमा उहाँ र श्रीमान्सहित दुई जना मात्र हुनुहुन्छ । उहाँहरूको अन्य पेशा केही छैन । तर जीवनयापनको मुख्य आधार मालागेडीको उत्पादन र त्यसबाट हुने आम्दानी हो ।
अन्य खेतीपातीमा जस्तो मल बोक्न नपर्ने र जोत्न नपर्ने झन्झट नहुँदा उहाँहरूलाई बुढेसकालमा अझ सहज भएको छ ।
तर मालागेडीको बोटमा फूल खेल्न थालेपछि बाँदरको बथान नै आएर फूल र पाक्ने समयमा फल झार्ने समस्याले जोगाउन पहरा दिनुपर्ने रोका सुनाउनुहुन्छ ।

रोल्पासँग सीमा जोडिएको छिल्लीकोटमा एक सय पाँच घरधुरीको बसोबास छ । यो गाउँबाट गत वर्ष ५० हजारदेखि साढे ५७ हजार रुपैयाँ प्रतिक्विन्टलसम्म मालागेडी बिक्री भएको थियो ।
यहाँ सबैभन्दा धेरै मालागेडी खेती गर्ने किसान परविर पुनको बारीमा अहिले साना–ठूला गरेर करिब दुई सयभन्दा बढी मालागेडीका बोटहरू छन् ।
जसमध्ये पुर्ख्यौली बोट १५ वटामात्रै हुन् भने पछिल्लो समय उहाँले दुई सय नयाँ बिरुवा थप्नुभएको छ ।
पछि रोपिएका बिरुवाले पनि उत्पादन दिन सुरु गरेका छन् । गत वर्षको तुलनामा मालागेडी उत्पादन गाउँमा धेरै भए पनि यो वर्ष मूल्य नपाउँदा गत सालकै बराबर आम्दानी गाउँमा भित्रिने पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष मैले तीन क्विन्टल बिक्री गरेको थिएँ । रुख धेरै भए पनि साना भएकाले कम उत्पादन हुन्छ । केही वर्षमा ठूलो परिमाणमा उत्पादन गर्ने गरी काम गरिरहेको छु ।’
पुनका अनुसार जङ्गली जनावरले बारीमा रोपेका अन्नबाली खाएर सताउने, त्यसमाथि उत्पादन नहुँदा खेतिपातीले वर्षदिन खान नपुग्ने समस्या गाउँमा थियो ।
मालागेडीका बिरुवा रोप्न चाहने किसानहरूलाई डिभिजन वन कार्यालय दाङले बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
चैतमा फूल फुल्ने र मङ्सिरको अन्तिमसम्म पाक्ने मालागेडी भारतीय बजारमा निर्यात हुने गरेको छ ।
यहाँ खाद्य बाली उत्पादन नभए पनि दुर्लभ वनस्पति मालागेडी भने प्रशस्त पाइन्छ । खेतिपातीको तुलनामा मालागेडी आम्दानीको राम्रो स्रोत बनेको स्थानीय पहलबहादुर खड्काले बताउनुभयो ।
उहाँको बारीमा पनि ७० वटा मालागेडीका बोट छन् । गत वर्ष उहाँले प्रतिक्विन्टल ६० हजारका दरले बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो ।
अन्नबाली लगाउँदा दुई–तीन महिना खान नपुग्ने जमिनमा मालागेडी रोपेर राम्रो आम्दानी हुन थालेपछि सबैजसो किसानहरू मालागेडीका बिरुवा रोप्न थालेका छन् ।
सडक पूर्वाधारको विकास नहुँदा किसानहरू बिचौलियाको भर पर्नुपर्ने अवस्था रहेको खड्काले दुःखेसो गर्नुभयो ।
अहिले प्रतिक्विन्टल ४० हजारदेखि ५० हजारसम्म मालागेडी बिक्री भइरहेको छ । गत वर्ष यो सिजनमा प्रतिक्विन्टल ७० हजार रुपैयाँसम्ममा किसानले मालागेडी बिक्री गरेका थिए ।
नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्ती लगायतका सामग्री निर्माणमा कच्चा पदार्थका रूपमा यसको प्रयोग हुने गरेको छ ।
अगरबत्ती त गाउँमै उत्पादन गरेर उपयोग पनि गरिएको छ ।
डिभिजन वन कार्यालय, दाङका सूचना अधिकारी टेकन आचार्यका अनुसार दाङ जिल्लामा मुख्यतः छिल्लीकोट र बङ्गलाचुली गाउँपालिकाको पहाडी क्षेत्रमा मालागेडी उत्पादन हुने गरेको छ ।
गत वर्ष निजी वनबाट १ लाख ३९ हजार ६२० किलो र राष्ट्रिय वनबाट १,५०० किलो गरी कुल १ लाख ४१ हजार ५१५ किलो मालागेडी निर्यात भएको थियो ।
राष्ट्रिय वनबाट निकासी गर्दा प्रतिकेजी १० रुपैयाँ राजस्व लिइन्छ, तर निजी वनका लागि छुट रहेको छ ।
गएको वर्ष करिब साढे आठ करोड रुपैयाँ बराबरको मालागेडी निर्यात भएको थियो, भने चालु आर्थिक वर्षको पुस महिनासम्म ५९ हजार किलो मालागेडी निर्यात भइसकेको छ ।
सरदर प्रतिक्विन्टल ५० हजारका दरले बिक्री हुँदा पनि चालु वर्षको पुससम्म करिब तीन करोड बराबरको मालागेडी निर्यात भएको हो ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१