सल्यान । सल्यानको त्रीवेणी गाउँपालिका ४ फालाबाङ्कका किसान जितबहादुर बुढा घर वरपरको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ ।
उहाँ मौरीपालनमा लागेको ४१ वर्ष पुगिसक्यो । सानो लगानीबाट मौरी पालन व्यवसाय सुरु गर्नुभएको बुढाको १ सय ६२ भन्दा बढी घारबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।
पछिल्लो समय मौसममा आएको अस्थिरता र तापक्रम वृद्धिले महको उत्पादन र गुणस्तर घटाएको उहाँ बताउनुहुन्छ ।
सल्यानकै कालिमाटी–४ का किसान उमेश कडेलसँग अहिले ४५ घार मौरी छन् र वार्षिक ५ लाख रुपैयाँसम्म कमाउनुहुन्छ । उमेशका अनुसार मह उत्पादन राम्रो भए पनि महको गुणस्तर घटेको छ ।
जिल्लाभर १ सय ५० देखि २०० किसानले मौरी पालन गर्दै आएका छन् । केही किसानले घरायसी प्रयोजनका लागि मात्र मह उत्पादन गरे पनि १ सय ५० भन्दा बढी किसानले व्यावसायिक मौरी पालन गरेका छन् ।
तर पहिलेको जस्तो उत्पादनमा गुणस्तर भेटिने छोडेको कालिमाटी गाउँपालिका–७ का अर्का किसान नारायण ओलीले बताउनुभयो ।
कृषि विकास कार्यालय, सल्यानका अनुसार, जिल्लामा उत्पादन हुने मह प्रतिकिलो रु १ हजारदेखि १२०० सम्म बिक्री हुने गरेको छ ।
जिल्लाको कालिमाटी गाउपालिका, कुमाख गाउपालिका, त्रिबेणी गाउँपालिका र कपुरकोट गाउँपालिकाका केही किसानहरुले मौरीपालन गर्दै आएका छन् । कृषि विकास कार्यालय, सल्यानका सूचना अधिकारी ईश्वरीनारायन घर्ती जलवायुमा देखिएको परिवर्तनको असर मौरी पालनमा पनि परेको बताउनुहुन्छ ।
गत वर्ष सल्यानबाट ६५ लाख बराबरको मह निर्यात भएको थियो । यस बर्षमात्र जिल्लाबाट ३० लाखबराबरको मह निर्यात भइसकेको र अझै बेच्नेक्रम चलिरहेको छ ।
मौरीका लागि चरण, हावापानीको सन्तुलन महत्वपूर्ण मानिन्छ । तर मौसम, हावापानीमा भएको फेरबदलका कारण उत्पादन सोचेजस्तो किसानले लिन पाएका छैनन् ।
उत्पादन भएको मह स्थानीय बजार लुहाम,खलङ्गा, श्रीनगर, कपुरकोट तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज, पोखरा र काठमाडौँसम्म बिक्री हुने गरेको छ ।
थोरै लगानीमा वर्ष भरी आम्दानी हुने भएपछि किसानहरु मौरीमा लगानी गर्न हौसिएका हुन् । महको मागसँगै यसको उत्पादनमा समेत बढेको छ ।
किसानहरूले परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग गरी मौरी पालनमा लाग्दै गर्दा वातावरण, चरण क्षेत्र भने अनुकूल हुन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१, १२:४०