डडेल्धुराको सदरमुकामको व्यस्त रहने बागबजारको बगरपाटामा एउटा सानो खोका भित्र रेडियो सेट र मर्मतका औजारहरू सजिलै देख्न सकिन्छ ।
त्यहीँ बस्नुहुन्छ, ४५ वर्षीय खडकबहादुर ठकुराठी । जसले १२ वर्षदेखि रेडियो मर्मत गर्दै आउनुभएको छ । डिजटल युगको आगमनले रेडियो सेटको प्रयोग घट्दै गए पनि उहाँको पेशाप्रति समर्पण भने कहिल्यै घटेन ।
रेडियो एक समयको सर्वाधिक प्रभावशाली सञ्चारमाध्यम । सूचना, समाचार र मनोरञ्जनको एकमात्र भरपर्दो माध्यम । तर प्रविधिको तीव्र विकाससँगै रेडियोको परम्परागत स्वरूप परिवर्तन हुँदै गयो ।
टेलिभिजन, इन्टरनेट र मोबाइल एपहरूको आगमनले रेडियो सेटको उपयोग घट्दै गएको छ । आज पनि रेडियोप्रेमीहरूको ठूलो जमात छ, जसले यसको विश्वसनीयतालाई कायम राखेको छ ।
डडेल्धुराका खडकबहादुर ठकुराठी पनि यस्तै पात्र हुनुहुन्छ । १२ वर्षदेखि रेडियो मर्मत गर्दै आउनुभएका उहाँ मोबाइल, टिभी र डिजिटल माध्यमको हावी भएको युगमा पनि रेडियोप्रति उत्तिकै समर्पित हुनुहुन्छ ।
रेडियो मर्मत उहाँको पेशा मात्र होइन, जीवनशैली हो । बिग्रेका रेडियो मर्मतमा अहिले पनि उहाँको दैनिकी बितिरहन्छ ।
सशस्त्र प्रहरीदेखि रेडियो मर्मत व्यवसायसम्मको यात्रा
भागेश्वर गाउँपालिका–१, डडेल्धुराका खड्कबहादुर ठकुराठी अहिले अमरगढी नगरपालिका–५, बगरपाटामा रेडियो मर्मत गर्दै आउनुभएको छ । उहाँको जीवनले धेरै घुम्ती लियो ।
१६ वर्षसम्म सशस्त्र प्रहरी बलमा सेवा दिएका उहाँले त्यहाँ रहँदा एक महिने सञ्चार तालिम लिनुभयो । यही तालिमले उहाँलाई जागिरे जीवनपछि नयाँ बाटो देखायो ।
सशस्त्र प्रहरीको जागिरे जीवन त्यति सजिलो थिएन । कडा अनुशासन, कठोर तालिम र देश सेवाको भावना बोकेर उहाँले समय बिताउनुभयो ।
जागिर पछि के गर्ने ? भन्ने प्रश्न थियो तर, उहाँले आफूभित्र भएको सीप पहिल्याउनुभयो, रेडियो र अन्य इलेक्ट्रोनिक सामग्री मर्मत ।
१२ वर्षअघि एउटा सानो कोठाबाट सुरु गरेको उहाँको मर्मत व्यवसाय आजसम्म कायम छ । उहाँले सुरुवात गर्दा हरेक दिन १५–२० वटा रेडियो मर्मतका लागि आउँथे । हिजोआज भने रेडियो सेट मर्मत गर्न ल्याउनेको सङ्ख्या घट्दै गएको छ ।
पहिलो सफलता– खिया लागेको टर्च बनाउँदाको उत्साह
प्राविधिक क्षेत्रमा काम गर्न सजिलो छैन । प्रारम्भिक चरणमा धेरै चुनौतीहरूसँग जुध्नुपर्छ । खडक बहादुरका लागि पहिलो सफलता खिया लागेको पुरानो टर्च बनाएर आएको थियो ।
त्यो सफलता सानो भए पनि उहाँले आत्मविश्वास थप्यो । उहाँले व्यवसायको सुरुमा टर्च बनाए पनि उहाँ रेडियोलगायत अन्य उपकरण पनि मर्मत गर्दै जानुभयो ।
‘सुरुमा रेडियो मर्मत गर्दा मानिसहरू आश्चर्य मान्थे,’ उहाँ भन्नुहुन्छ, ‘तर, जब मेरो काम देखेँ, विश्वास गर्न थाले ।’ ‘काम सानो–ठूलो हुँदैन, मन लगाएर गर्यो भने त्यही ठूलो हो,’ उहाँ सम्झन्छ ।
लाहुरेले ल्याएका रेडियो मर्मत
एक समय थियो, जब लाहुरेहरू रेडियो र टेप ल्याएर गाउँमा गर्वका साथ बजाउँथे । त्यतिबेला रेडियो सुन्नु प्रतिष्ठाको विषय थियो । नेपालमा मात्र नभइ भारतबाट समेत रेडियो सेट ल्याउने गरिन्थ्यो ।
‘पहिला लाहुरेहरूले ल्याएका रेडियोहरू मर्मत गर्थेँ ।’ खडकबहादुर सम्झनुहुन्छ, ‘त्यसबेला मानिसहरू रेडियो नेपालबाट आउने समाचार सुन्न भेला हुन्थे ।’
रेडियोको पहुँच गाउँगाउँमा थियो । रेडियो सुन्नकै लागि मानिसहरू जमघट गर्थे, देशपरदेशका खबर त्यही रेडियोबाट थाहा हुन्थ्यो । सूचना प्रवाहको सबैभन्दा भरपर्दो माध्यम थियो, रेडियो ।
डिजिटल प्रविधिको आगमन
प्रविधिको विकासले संसार नै परिवर्तन गरिदियो । सूचना प्रवाहका माध्यम थपिँदै गए । स्मार्टफोन, टेलिभिजन, इन्टरनेट, सामाजिक सञ्जालजस्ता प्लेटफर्मले रेडियोको परम्परागत स्वरूपलाई चुनौती दियो । तर खड्कबहादुर भन्नुहुन्छ, ‘रेडियो प्रभावित भएको होला, तर विस्थापित भएको छैन ।’
आज मोबाइलमै रेडियो सुन्न सकिन्छ । डिजिटल एपहरूबाट सहज रूपमा विश्वभरका रेडियो स्टेसनहरू सुन्ने सुविधा छ । तर, गाउँका बुढापाकाहरूका लागि अझैँ पनि रेडियो सेट नै पहिलो रोजाइ हो ।
रेडियो किन अझैँ पनि लोकप्रिय छ
सामाजिक सञ्जालमा गलत सूचना र अफवाहको समस्या व्यापक छ । अनलाइन मिडियाले सूचना छिटो प्रवाह गर्छ, तर विश्वसनीयताको ग्यारेन्टी दिन सक्दैन ।
रेडियो भने सत्य समाचारको पर्यायवाची जस्तै छ । आज पनि मानिसहरू रेडियोमा आउने समाचारलाई बढी विश्वास गर्छन् ।
प्राकृतिक विपद्का बेला, भूकम्प, बाढी, पहिरोजस्ता विपद्को समयमा रेडियो सबैभन्दा भरपर्दो माध्यम हो । गाउँ–गाउँमा कृषि, स्वास्थ्य र सामाजिक सन्देश पुर्याउन रेडियो प्रभावकारी छ ।
रेडियो मर्मतको भविष्य, नयाँ पुस्ताको अरुचि
रेडियो मर्मत सिक्न चाहनेहरू कम हुँदै गएका छन् । खडकबहादुर चिन्ता गर्दै थप्नुहुन्छ, ‘आजको पुस्ता रेडियो मर्मतको सीप सिक्न चाहँदैन ।
तर रेडियो मर्मत सिके अन्य इलेक्ट्रोनिक उपकरण पनि बनाउन सकिन्छ । यो व्यवसायप्रति युवाहरूको आकर्षण छैन ।’ स्थानीय सरकारले यस्ता तालिमहरू सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ ।
रेडियोको भविष्य
अबको चुनौती भनेको प्रविधिसँगै रेडियोलाई नयाँ ढाँचामा लैजानु हो । स्रोताको चाहाना र समाजको आवस्यकता बुझेर रेडियोले अगाडि बढ्नु आवश्यक छ ।
डिजिटल युगमा रेडियोको महत्व घट्दै गएको भए पनि यसको विश्वासनीयता अझैँ बलियो छ ।
सूचना र मनोरञ्जनको भरपर्दो स्रोतका रूपमा रेडियोले आफ्नो स्थान जोगाइरहेको छ । रेडियोप्रेमी स्रोताहरूले यसलाई जीवित राख्न अहम् भूमिका खेलेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१, ११:३१