नवलपरासी । विश्व रेडियो दिवसको अवसरमा पश्चिम नवलपरासीमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
दुर्घटना न्यूनिकरणका लागि तयार पारिएका झण्डै २ हजार थान स्टिकर कार्यक्रमका बीच वितरण गरिएको छ ।
रेडियो परासीले दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालय र स्वास्थ्य कार्यालय नवलपरासीको सहकार्यमा आज सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
नगरप्रमुख यादवले रेडियो दिवसको शुभकामना व्यक्त गर्दै नगरभित्र ट्राफिक व्यवस्थापन गर्न सवै पक्षसँग सहकार्य गरिएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सचेतना जागृत गरेको बताउनुभयो ।
२०६५ सालमा स्थापना भएको रेडियो परासीले समाजलाई निरन्तर सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली, जिल्ला ट्राफिक कार्यालयका बिक्रमप्रसाद भुषाल लगायतले सवारी साधन, सडक र सवारी चालकको सही प्रयोगले मात्र दुर्घटना न्यूनिकरण गर्न सकिने धारणा राख्नुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१, १२:०२