सूचना, समाचार, शिक्षा र मनोरञ्जनको सशक्त माध्यमको रूपमा रेडियो संसारभरि लोकप्रिय छ । प्रविधि र सञ्चारको निरन्तर विकाससँगै रेडियोको स्वरूप परिवर्तन भए पनि यसको महत्त्व अझैँ घटेको छैन ।
रेडियो श्रव्य माध्यम भएकाले निरक्षरदेखि साक्षर, सहरदेखि गाउँ, सम्पन्नदेखि विपन्न सबैले सहज रूपमा प्रयोग गर्न सक्छन् ।
रेडियोसँग मेरो सम्बन्ध केवल समाचार लेख्नेमै सीमित छैन, बरु यसले जीवनका धेरै महत्वपूर्ण पक्षहरूमा प्रभाव पारेको छ ।
रेडियोको सुरुवातको कुरा गर्दा सन् १८९५ मा इटालियन वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले पहिलो पटक वायरलेस टेलिग्राफीको सफल प्रयोग गरी संसारलाई नयाँ सञ्चार प्रविधि दिएँ ।
त्यसपछि सन् १९०६ मा रेजिनाल्ड फेसेन्डेनले पहिलो पटक मानव आवाज रेडियोमार्फत प्रसारण गरी आधुनिक रेडियो प्रसारणको जग बसाल्नु भएको थियो ।
त्यतिबेला मानिसहरूले कल्पना पनि गरेका थिएनन् कि भविष्यमा रेडियो सूचनाको मेरुदण्ड बन्नेछ । सन् १९२० मा अमेरिकाको केडीकेए रेडियोले व्यावसायिक रूपमा समाचार प्रसारण सुरु गरेपछि विश्वभरि नै रेडियोको विस्तार तीव्र भयो ।
नेपालमा पहिलो पटक २००७ सालमा ‘प्रजातन्त्र रेडियो’मार्फत प्रसारण थालिएको पाइन्छ । त्यसपछि २००७ साल फागुन २० गतेबाट औपचारिक रूपमा रेडियो नेपाल स्थापना भई नियमित प्रसारण सुरु भयो ।
तत्कालीन समयमा यो रेडियोको आवाज केवल काठमाडौँमा सीमित थियो, तर क्रमशः प्रविधिको विकास हुँदै जाँदा देशभर यसको पहुँच विस्तार हुँदै गयो ।
नेपालमा रेडियोको प्रभाव विस्तार हुँदै गएपछि एफएम रेडियोको विकासले अझ ठूलो परिवर्तन ल्यायो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सन् १९९७ मा ‘रेडियो सगरमाथा’ को स्थापना भएसँगै सामुदायिक रेडियोको युग सुरु भयो । अहिले नेपालमा सरकारी, निजी र सामुदायिक गरी सयौं एफएम रेडियोहरू सञ्चालनमा छन् ।
रेडियो नेपालले राष्ट्रव्यापी प्रसारण सञ्चालन गरिरहे पनि स्थानीय एफएम रेडियोहरूले समुदायको वास्तविकतालाई उजागर गर्न सफल भएका छन् ।
म आफैँ पनि ग्रामीण भेगमा हुर्किएकाले रेडियोको महत्त्व कति छ भन्ने कुरालाई नजिकबाट अनुभूत गरेको छु । पत्रिका पढ्न नपुग्ने ठाउँ, टेलिभिजनको पहुँच नपुगेका गाउँहरूमा रेडियो नै सूचनाको भरपर्दो माध्यम बनेको छ ।
बाल्यकालमा रेडियो सुन्दै हुर्किएको सम्झँदा अझैँ रोमाञ्चित हुन्छु । बिहानको समाचार, लोकदोहोरी कार्यक्रम, खेतीपातीसम्बन्धी सल्लाह, राजनीतिक बहस— यी सबैले गाउँको जीवनशैलीलाई नजिकबाट जोडेको थियो ।
तर, वर्तमान अवस्थामा रेडियोहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । पहिलो चुनौती भनेकै प्रविधिसँगै सञ्चार क्षेत्रको प्रतिस्पर्धा हो ।
टेलिभिजन, अनलाइन समाचार पोर्टल, डिजिटल मिडिया तथा सामाजिक सञ्जालहरूको प्रभाव बढ्दै जाँदा परम्परागत रेडियो श्रोतामा ह्रास आएको देखिन्छ ।
हिजोआज मानिसहरू मोबाइलमा समाचार पढ्छन्, भिडिओ हेर्छन्, तर रेडियो सुन्ने समय घट्दै गएको छ ।
यस्तै, आर्थिक स्रोत व्यवस्थापन अर्को चुनौती बनेको छ । अधिकांश सामुदायिक रेडियोहरू आर्थिक रूपमा कठिनाइ झेलिरहेका छन् । विज्ञापन तथा प्रायोजनमा निर्भर रहँदा कार्यक्रमको गुणस्तरमा असर पर्ने खतरा रहेको छ ।
कतिपय रेडियोहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
तेस्रो चुनौती भनेकै नीति निर्माण र नियमन हो । सरकारका विभिन्न नीतिगत झमेलाले रेडियोहरूलाई निष्पक्ष रूपमा सञ्चालन गर्न कठिनाइ हुने गरेको छ ।
कहिलेकाहीँ सरकारले नीति निर्माण गर्दा रेडियोको स्वतन्त्रतालाई प्रभावित पार्ने खालका नियम ल्याउने प्रयास गर्छ, जसले रेडियो पत्रकारितालाई कमजोर बनाउन सक्छ ।
रेडियोमा कार्यरत सञ्चारकर्मीहरूको अवस्था हेर्दा अझ गम्भीर समस्या देखिन्छ । नेपालमा रेडियो पत्रकारितालाई अझै पनि पूर्ण रूपमा व्यावसायिक रूपमा लिन सकिएको छैन ।
अधिकांश रेडियो स्टेशनहरूमा न्यून पारिश्रमिक, अस्थायी रोजगारी, सुरक्षाको अभाव, तथा सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु प्रमुख समस्याका रूपमा देखिन्छ ।
रेडियोमा काम गर्ने पत्रकारहरूले न्यून तलबमा लामो समयसम्म काम गर्न बाध्य छन्, जसले गर्दा उनीहरू दीर्घकालीन रूपमा टिक्न सक्दैनन् ।
विशेष गरी विकट र दुर्गम क्षेत्रमा रेडियोको प्रभाव झनै ठूलो छ । नेपालमा अझैँ पनि धेरै ठाउँमा पत्रपत्रिका, टेलिभिजन र इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो अवस्थामा रेडियो नै एकमात्र भरपर्दो सञ्चार माध्यम बनेको छ ।
तर, दुर्गम क्षेत्रमा कार्यरत रेडियो सञ्चारकर्मीहरूको अवस्था निकै कठिन छ । शहरका सञ्चारकर्मीहरूसँग तुलनामा दुर्गम क्षेत्रमा काम गर्ने पत्रकारहरू झन् बढी आर्थिक समस्यामा छन् ।
न्यून तलब, असुरक्षित कामको वातावरण, प्रविधिको अभाव, तथा राज्यबाट सहयोगको कमीले गर्दा उनीहरूको पेशागत जीवन अत्यन्त चुनौतीपूर्ण बनेको छ । कतिपय अवस्थामा त दुर्गम क्षेत्रका पत्रकारहरू आफ्नो पेशागत सुरक्षाको सवालमा गम्भीर सङ्कटमा पर्ने गरेका छन् ।
यस्तो अवस्थामा रेडियोको भविष्यलाई उज्यालो बनाउनका लागि केही सुधारका उपायहरू आवश्यक देखिन्छन् ।
पहिलो, प्रविधिसँग रेडियोलाई अद्यावधिक गर्दै डिजिटल रेडियो प्रसारणको विस्तार गर्न आवश्यक छ । अनलाइन स्ट्रिमिङ, मोबाइल एप्लिकेसन तथा सामाजिक सञ्जालहरूलाई प्रभावकारी रूपमा उपयोग गर्दै रेडियोको नयाँ मोडेल अपनाउनुपर्छ ।
दोस्रो, सरकार तथा सरोकारवालाहरूले सामुदायिक रेडियोहरूको आर्थिक सुदृढीकरणका लागि विशेष नीति निर्माण गर्नुपर्छ । विज्ञापन स्रोत विस्तार गर्न वैकल्पिक उपायहरू खोजिनुपर्छ ।
तेस्रो, रेडियो पत्रकारहरूको सुरक्षा, पारिश्रमिक वृद्धि, तालिम तथा सीप अभिवृद्धिमा विशेष ध्यान दिनुपर्छ ।
म ती सबै पत्रकार, सञ्चारकर्मी, प्राविधिक र सम्पादकहरूलाई सम्झन चाहन्छु, जसले सूचना प्रवाहको यो क्षेत्रमा अथक मेहनत गरिरहेका छन् ।
विशेष गरी विकट क्षेत्रमा कार्यरत रेडियोकर्मीहरू, जसले थोरै स्रोतसाधनमा पनि जनताको पक्षमा आवाज उठाइरहनुभएको छ, उहाँहरूलाई नमन गर्न चाहन्छु ।
रेडियो पत्रकारिताको महत्त्व अझ बढोस्, यसले सूचनाको विश्वसनीयता जोगाइराखोस्, र पत्रकारहरूको अवस्था सुदृढ होस् भन्ने मेरो व्यक्तिगत शुभेच्छा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१