काठमाडौं ।
मधेस केन्द्रित राजनीतिक दलबीचको एकीकरणको हल्ला बेलाबेला सुनिने गर्छ । दुई पार्टीबीच एकता भएमा मधेशको मुद्दा बलियो हुने बुझाइ नागरिकमा छ । तर, त्यो एकीकरणमा हुने मोलमोलाई र अडानमा भने नेताहरुले सोच्नुपर्ने जनकपुरका धर्मेन्द्र कर्णको भनाइ छ ।
दुई ठूला दलबीच एकीकरण हुनु राम्रो पक्ष हो । तर, त्यसको स्थायीत्व तर्फ ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ छ । समाजवादी र राजपाको पार्टी एकीकरणको कुरा सुन्दा सप्तरीका किशोर यादलाई मधेश आन्दालेनको सम्झना आउँछ ।
आन्दोलनको बेला सडकमा उत्रंदा सबै मधेशका नागरिक मधेशले निकास पाउनेमा आशावादी थिए । उहाँले थप्नुभयो, ‘दुई पार्टीबिचको एकीकरण सकारात्मक कुरा हो । तर, राजपा नेपालबीच आफैं एकता हुन नसकेको अवस्थामा स्थायीत्व हुनेमा शंका छ ।’
उहाँले भन्नुभयो, ‘पार्टी एकीकरणका लागि सबैभन्दा पहिले दुवै पार्टीले नागरिक समक्ष गएर नागरिकको आकांक्षा के छ र उनीहरु के भन्छन् भन्ने विषयमा पनि विचार बुझेर एकीकरण गर्नुपर्छ ।’
महोत्तरीका सन्तोष महतो भने पार्टी एकीकरणको विपक्षमा हुनुहुन्छ । उहाँ प्रश्न गर्नुहुन्छ, ‘पार्टी एकीकरण गर्दैमा के ती पार्टीले मधेशका माग सम्बोधन गराउन सक्छन् र ? यतिका वर्षमा संविधान संशोधन गराउन नसकेका ती दलले अब एक भएर संविधान संशोधन गराउँछन् भन्ने के ग्यारेन्टी छ ?’
नयाँ शक्ति नेपालसँग पार्टी एकीकरणपछि समाजवादी पार्टी र ६ दलको एकीकरणबाट बनेको राजपाबीच एकीकरणका नाममा बेला बेला सम्वाद अनि विवाद हुने गरेको छ ।
महतोले पार्टी एकीकरणको बहसमा लागेर समय खेर फाल्नुभन्दा शहीदको सपना साकार पार्न त्यो समय उपयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
नयाँ शक्ति नेपालसँग पार्टी एकीकरणपछि समाजवादी पार्टी र ६ दलको एकीकरणबाट बनेको राजपाबीच एकीकरणका नाममा बेला बेला सम्वाद अनि विवाद हुने गरेको छ । प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल निर्णायक भूमिकामा छन् ।
दुई पार्टीबीच एकीकरणको सम्भावना राम्रै भएको राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवको भनाइ छ । उहाँले भन्नुभयो, ‘पार्टी एकीकरण गर्नु माग र परिस्थिति अनुसार हुन्छ । समाजवादी पार्टीसँग मात्रै होइन अरु दलसँग पनि एकीकरण गर्न सकिन्छ ।’
संयोजक यादवका अनुसार समाजवादी पार्टी र राजपाको धेरै मुद्दाहरु मिल्ने हुनाले र दुवै पार्टीले मधेशका जनताका भावना बुझेका हुनाले एकीकरण गर्न सकिन्छ । उहाँले थप्नुभयो, ‘अहिले पार्टी एकीकरणभन्दा पनि हामी महाधिवेशनको तयारीमा छौं । अर्कोतिर पार्टी एकीकरणको पनि कुरा हँुदै गर्छ । कुरा मिल्यो भने पार्टी एकीकरण पनि गर्न सकिन्छ ।’
झन्डै ९ महिना पहिले पनि पार्टी एकीकरणको कुरा चलेको थियो । तत्कालीन संघीय समाजवादी फोरम नेपालले समिति नै बनायो । तर एकीकरण अझैँसम्म पनि हल्लामै सीमित छ ।
झन्डै ९ महिना पहिले पनि पार्टी एकीकरणको कुरा चलेको थियो । तत्कालीन संघीय समाजवादी फोरम नेपालले समिति नै बनायो । तर एकीकरण अझैँसम्म पनि हल्लामै सीमित छ ।
समाजवादी पार्टी नेपालका महासचिव रामबाबु सहाय यादवले राजपासँग पार्टी एकीकरणको कुरा जारी रहेको भन्दै यसका लागि पत्र पठाइसकेको र उताबाट सकारात्मक जवाफ आएको बताउनुभयो ।
सीआईएनसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हामी निरन्तर छलफल र परामर्शमै छौं । सरकार छोडेर आए मात्रै कुरा अघि बढ्ने उहाँहरुको अडानमा मात्रै कुरा मिल्न सकेको छैन । तर, त्यो विषयमा हामी आन्तरिक छलफलमा छौं ।’
संविधान संशोधन दुई दलको मुख्य विषय बनेको छ । सरकारमा रहेको समाजवादीले संविधान संशोधन गराउन प्रभावकारी भूमिका खेल्न नसकेको आरोप राजपाको छ । सरकार बाहिर भएर एकीकरण गर्ने कि अहिलेकै अवस्थामा भन्नेमा २ दलबीच कुरा मिलेको छैन ।
दुई पार्टी बीचको एकीकरण साँच्चिकै कति सम्भव ? मधेश राजनीतिका जानकार डा. भोगेन्द्र झा पार्टी एकीकरण हुनु राम्रो भएपनि दुई पार्टीबीचको एकीकरणको भविष्य भने नभएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘राजपा नेपालबीचको ६ टाउको मिल्न नसकेको अवस्थामा एकीकरण यसै सम्भव छैन । त्यसमाथि उनीहरुले समाजवादीसमक्ष राखेको अडानपनि बाधक छ । यदि यी दुई पार्टीबीच एकीकरण भयो भने त्यो स्थायी रुपमा टिक्न सक्दैन ।’
एकीकरण गरी नेकपा पछिको दोस्रो ठूलो दल बन्ने बारे पनि दुई ठूला मधेसवादी दलका नेताबीच छलफल हुन्छ । तर सत्ताप्रतिको बुझाइ, संविधान संशोधन र पदिय भागबण्डाका विषय नमिल्दा एकीकरणको हल्ला चल्दै र हराउँदै गर्ने गरेको छ ।
मुुद्दामा एक तर, रणनीतिमा विपरित जस्तै देखिने मधेशका दुई ठूला राजनीतिक दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको सम्बन्धमा देखिरहने दरारले मधेशका जनता भने निराश भइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६, १२:४६