काठमाडौंँ । त्रिभुवन विश्वविद्यालयले २०५४ साल यता पहिलो पटक परीक्षामा सहभागी भएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि मौका परीक्षाकाको अवसर दिएको छ ।
पढाइ अगाडि बढाउन नसकेकाहरू त्रिविको यो निर्णयबाट खुसी भएका छन् । तर यसको मान्यता, परीक्षा र प्रश्नपत्रको बारेमा भने विद्यार्थीको बुझाइ फरक देखिएको छ ।
काठमाडौँ बल्खुमा रहेको त्रिभुवन विश्वविद्यालय परिसरमा हिजोआज निकै चहलपहल देखिएको छ । उनीहरू परीक्षाको फारम भर्न विश्व विद्यालय पुगेका हुन् ।
त्रिविले वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो अनि स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूको लागि मौका दिन लागेको हो ।
परीक्षाको बेलामा आएको स्वास्थ्यदेखि अरु भैपरी हुने समस्याका कारण पनि छुटेकाहरूले मौका परीक्षालाई सुनौलो अवसरको रूपमा लिएका छन् ।
मौका परीक्षामा सहभागी हुन यही फागुन २३ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुरसहित आवेदन फाराम बुझाउन सकिनेछ ।
यो परीक्षामा ५ देखि ७ हजार विद्यार्थी सहभागी हुने त्रिविले अनुमान गरेको छ ।
मौका परीक्षा भनिए पनि प्रश्नपत्र बनाउने शैली, विषयवस्तु, मापदण्ड र वैधानिकतामा कुनै फरक नभएको परीक्षा नियन्त्रक पुुष्पराज जोशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१, १६:३८