काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार मुलुकको व्यापार घाटा र भुक्तानी असन्तुलनको अवस्था विगतका वर्षहरूको तुलनामा बढेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालको कुल व्यापार घाटा झन्डै १३ खर्ब पुगेको थियो ।
दैनिक उपभोगका लागि चाहिने आवश्यक वस्तु, खाद्य पदार्थलगायतको सामग्री निर्यातभन्दा बढी आयात भयो भने व्यापार घाटा बढ्छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले व्यापार घाटा बढ्नुको मुख्य कारण आयात रहेको बताउनुभयो । स्वदेशमा उत्पादन हुने सामानहरुपनि बाहिरबाट ल्याउने प्रवृत्तिका कारण पनि व्यापार घाटा बढ्दै जाने उहाँको भनाइ छ ।
कुन सामानको मूल्य कति छ भन्ने आकलन नै नगरि बजारमा अनावश्यक सामानहरु बिक्रिमा हुने साथै अनावश्यक सामानहरुपनि आयात हुने गरेको छ
सीआईएनसँग कुराकानी गर्दै उहाँले भन्नुभयो,‘मुलुकमा स्थायी सरकार गठनपछि मानिसहरुमा व्यापार गर्ने होड चलेको छ । जसले गर्दा अध्ययन अनुसन्धान नै नगरि कुनैपनि व्यवसाय चलि हाल्छ भन्ने सोचका कारण पुँजी फसाउने प्रवृत्ति बढ्दै गएको छ ।’
व्यापार घाटा घटबढ हुँदा घुमाइफिराइ नागरिक नै प्रभावित हुने गरेको क्षेत्रीको तर्क छ । उहाँ भन्नुहुन्छ ‘व्यापार घाटाको सबैभन्दा बढी असर मध्यम र गरिब वर्गलाई पर्छ । ’
अहिले नेपालीको प्रतिव्यक्ति ऋण करिब ३६ हजार पुग्नुमा पनि व्यापार घाटाको प्रभाव रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार, कुन सामानको मूल्य कति छ भन्ने आकलन नै नगरि बजारमा अनावश्यक सामानहरु बिक्रिमा हुने साथै अनावश्यक सामानहरुपनि आयात हुने गरेको छ । जसको खरिदका लागि मानिसले ऋण लिएरै भएपनि खरिद गर्ने गर्छन् ।
उहाँ भन्नुहुन्छ, ‘बजारमा कुनै पनि सामान आयो वा खरिद गर्नुपर्ने एउटा तर मन अर्को सामान परिदिँदा ऋण लिएरमै भएपनि त्यो इच्छा पुरा गर्ने मानिसको प्रवृत्तिले पनि उनीहरुमा ऋण थपिने हुन्छ ।’
देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर अर्थात शोधनान्तर देश भित्रिने रकम बाहिरिनेभन्दा बढी हुँदा नाफामा जान्छ भने बाहिरिनेभन्दा भित्रिने रकम कम भए घाटामा गनिन्छ ।
‘घाटा आकारमा ठूलो भए पनि प्रतिशतमा कम’
सरकारले भने व्यापार घाटा आकारमा ठूलो भए पनि प्रतिशतमा कम भएको दावी गर्छ । व्यापार घाटा कम गर्न सरकारले विभिन्न नीति अपनाएपनि त्यो प्रभावकारी हुन सकेको देखिँदैन ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले व्यापार घाटा कम गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दै उत्पादनमा वृद्धि गर्ने, आयात कम गर्ने लगायतको काम भइरहेको बताउनुभयो ।
नागरिक आफैले पनि आफ्नो आम्दानी र खर्चको तालमेलमा खर्च र बचत गर्नुपर्ने हुन्छ । अनावश्यक कुरामा पैसा लगाएर पुँजी फसाउनु उचित भने होइन
नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क अनुसार १० खर्ब ३२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । भूकम्पपछिको पुनर्निर्माण र भारतले लगाएको नाकाबन्दीका कारण पनि नेपाल घाटाको व्यापार गर्न बाध्य भएको छ ।
व्यापार घाटा कम गर्न सरकारले समयमै ध्यान नदिने हो भने यो झन् बढ्दै जाने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सरकार सजग भएर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले व्यापार घाटा कम गर्न कृषिजन्य उत्पादन बढाउने, अनावश्यक आयातित सामानमा रोक लगाउने, रोजगारीको सिर्जन गर्ने तर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
आम्दानी र खर्चको तालमेल मिलेन
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले व्यापार घाटा कम गर्न सरकारले मात्रै नभई नागरिक आफूपनि सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिक आफैले पनि आफ्नो आम्दानी र खर्चको तालमेलमा खर्च र बचत गर्नुपर्ने हुन्छ । अनावश्यक कुरामा पैसा लगाएर पुँजी फसाउनु उचित भने होइन ।’
कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विविध किसिमका वस्तुहरूको उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउन सके बढ्दो व्यापार घाटा कम गर्न सकिने उहाँको तर्क छ ।
उपादनमा पनि कृषिजन्य वस्तुलाई प्राथमिकतामा राख्दै घरेलु तथा साना उद्योगहरूको संरक्षण र उनीहरूलाई प्रोत्साहन पनि उत्तिकै महत्वपूर्ण छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६