सर्लाही । सर्लाहीका उखु किसान पछिल्लो समय उन्नत जातको उखुु खेतीतर्फ आकर्षित भएका छन् ।
उत्पादन राम्रो हुन थालेपछि उन्नत जातको उखु खेतीमा किसानको आकर्षण बढेको हो । जसबाट किसान र उद्योगी दुवैलाई फाइदा पुगिरहेको छ ।
चिनी उद्योग आफैले प्राविधिक सरसल्लाह र बीउ दिएपछि किसानले उन्नत जातको उखु खेती गर्न थालेका छन् ।
उखुुको उत्पादन कम हुने र चिनीको मात्रा (रिकोभरी) कम आउने भएपछि चिनी मिलले किसानलाई उन्नत जातको उखु रोप्न आग्रह गर्दै आएका छन् ।
बरहथवा नगरपालिका–१५ सुुचुुका किसान तीर्थराज मैनालीले उत्पादन राम्रो हुन थालेपछि साढे ६ बिघामा उन्नत जातको उखु खेती गरेको बताउनुभयो ।
उन्नत जातको उखु खेती गर्दा प्रतिकठ्ठा ४० देखि ५० क्वीन्टलसम्म बढी उत्पादन हुने किसानको भनाइ छ ।
हरिवन नगरपालिका–९, विष्णुपुरका किसान माधव थापाले चिनी मिलबाट प्राविधिकहरू खेतमै आइ मल, बीउलगायत सबैकुराको हेरविचार गरिदिँदा उत्साहित भइ उन्नत जातको उखु खेती गर्दै आइरहेको बताउनुभयो ।
चिनी उद्योगले उखुको सातवटा उन्नत जात ‘सुपर सेभेन’ भेराइटी रोप्ने किसानलाई सरकारले तोकेको मूल्यमा १५ रुपैयाँ बढी मूल्य दिएर खरिद गर्ने गर्छन् ।
उखुको उन्नत जात अन्तर्गत ‘सुपर सेभेन’ मा सिओ ०११८, कल्क ९४१८४, यूपी ०५१२५, कस १३२३५, कल्क १४२०१, सिओ १५०२३ र सिओपी ९३०१ जातका उखु पर्छन् ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योगनारायण रजकले यी जातका उखु लगाउँदा उत्पादन बढी भएर किसानलाई तथा चिनीको रिकोभरी बढेर मिललाई फाइदा पुुग्ने बताउभयो ।
किसानलाई उन्नत जातको उखुु खेतीप्रति आकर्षित गरेर बढीभन्दा बढी आम्दानी दिलाउन सक्ने अवस्था रहेको, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
बर्सेनि उखु खेती घट्दै गइरहेको अवस्थामा किसानलाई उन्नत जातको उखु खेतीमा प्रोत्साहन गर्न चिनी उद्योगी, पालिका र अन्य सरोकारवाला निकायबीच समन्वयको खाँचो देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१