परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ सेखुवनामा घर निर्माणको क्रममा विद्युत सर्ट हुँदा ५ जना दाजुभाइको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आज मध्यान्य साढे १२ बजे अचाकन विद्युत सर्ट भई आगो लागेको हो ।
स्थानीय सहजाद अन्सारीको घर भित्र भएको विद्युतीय बोर्डमा आगो लागेपछि सँगैका अन्य चार भाइको घरमा पनि आगो सल्किएको थियो ।
टिनको छानो मुनि खरको छाप्रो भएकोले सँगैका अन्य घरमा पनि आगो सल्किएको हो । सहजाद सहित कासिम, नुरमोहम्द, सइआलम र अफतावको घर पूर्णरुपमा जलेको स्थानीयले बताएका छन् ।
आगलागी नियन्त्रणमा लिने प्रयासमा २ जना घाइते भएका छन् । घाईतेलाई चौपत्ता सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्य मानवीय क्षति भएको छैन ।
आगलागीबाट करिव २७ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
रामग्राम नगरपालिका र वर्दघाट नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१