काठमाडौँ । राप्रपालगायतका केही समूह, सङ्गठनको अगुवाइमा काठमाडौँमा पूर्व राजा समर्थकले हिजो निकालेको जुलुशलाई राजनीतिक दलहरूले आपत्ति जनाउँदै यसबाट पूर्व राजा हौसिन आवश्यक नभएको बताएका छन् ।
हिजो भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले निकालेको वक्तव्यमा आफूहरूलाई साथ चाहिएको बताए पनि केका लागि साथ खोजेको भन्ने नखुलेको भन्दै व्यङ्ग्य गर्नुभयो ।
सुर्खेतमा गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको सुन्दर पक्ष भनेकै पूर्वराजाले पनि सामान्य नागरिकको सरह सुविधा, अधिकारसहित नेपालमै बस्नु रहेको उल्लेख गर्दै राजसंस्था फर्किने सम्भावना नरहेको बताउनुभयो ।
विश्लेषकहरूले भने अहिलेका राजनीतिक दल, सरकार र मातहतका निकायबाट नागरिके गरेको अपेक्षा पूरा नभएका कारण पूर्व राजाप्रतिको समर्थन बढेको बताइरहेका छन् ।
सीआईएनसँग कुराकानी गर्दै विश्लेषक जैनेन्द्र जीवनले राज संस्था फर्कने तत्कालको सम्भावना नभए पनि हिजो काठमाडौँमा निकालिएको र्यालीले दल, नेतृत्व र शासनव्यवस्थामा रहेकाहरूलाई चेतावनीको सङ्केत गरेको टिप्पणी गर्नुभयो ।
पूर्व राजाप्रतिको सहानुभूति बढेको उल्लेख गर्दै उहाँले बाह्य शक्तिको बुझाइ र भूमिकाले पनि नेपालमा राजसंस्थाको भविष्य निर्धारण हुने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१